
दोस्रो जनआन्दोलनपछि गणतन्त्र संस्थागत गर्न भन्दै दलहरु चुनावी दौडमा होमिएका बेला दाङको तुलसीपुरबाट एउटा दीर्घकालीन राजनीतिक प्रभावको सन्देश प्रवाहको घटना भएको छ।
त्यहाँ मारिएका विनोद चौधरी एकजना म्यादी प्रहरी त थिए।
त्यससँगै उनको हत्या राज्यको बृहत्तर लक्ष्यको एउटा साधनमाथिको प्रहारको रुपमा प्रकट भएको देखिन्छ।
कुनै संगठनले जिम्मेवारी नलिएको त्यो घटना विशुद्ध एकजना मान्छे मारिएको दुर्घटनामै सीमित रहला?
बेरोजगारीको बेहालकाबीच देशव्यापी भइरहेको चुनावले विनोद चौधरीलाई गरीबीमाझ गर्जो टार्न एउटा अल्पकालीन आयको अवसर जुराइदिएको थियो।
त्यो उनले म्यादी प्रहरी बनेर छोपे।
प्रेरणापथ
तर त्यो अवसर उनी र उनको परिवारको निम्ति अकल्पनीय ‘दुर्भाग्य’ बन्न पुग्यो।
उनको ज्यान लिने यो घटना नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संविधान कार्यान्वयनको निम्ति भइरहेका चुनावविरुद्ध उत्रिएका बेला भएको छ।
चुनाव लक्षित हिंसामा चन्द नेतृत्वको दलको हात रहेको ठानिएका बेला उसका कार्यकर्ताको गिरफ्तारीमा जुटेको सरकारले ती घटनाका जिम्मेवार किटान गरेको पाइँदैन।
मतपेटिकामार्फत प्रकट भइरहेको जनमतको बेवास्ता गर्दै चन्दको दलका नेताले पछिल्ला घटनालाई ‘जनताको आक्रोश’को संज्ञा दिइरहेका छन्।
कतिपयले २०४८ सालको आम चुनावपछि बाटो पहिल्याउँदै गरेको नव-प्रजातन्त्रविरुद्ध सावित हुन पुगेको ठान्ने २०५२ सालमा माओवादीले उठाएको बन्दूकको औचित्य गणतन्त्र देखाएर पुष्टि गरिन्छ।
नेत्रविक्रम चन्दले त्यसैलाई प्रेरणापथ मानेको देखिन्छ।
गुप्तवास
तर वर्तमान संविधानले ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सर्वभौमसत्ता’ बाहेक मतपेटिकाबाट के परिवर्तन गर्न रोकेको छ, जो उनी चाहन्छन्? चन्दसामु उनका पूर्ववर्ती माओवादी सहकर्मीले समेत तेर्स्याउने यो प्रश्न कमजोर लाग्दैन।
यसअघि तर्साउने खालका सांकेतिक आक्रमण मानव हत्यामा पुग्दा सरकारको धारणाको खोजी पनि हुनेछ, “तुलसीपुरमा विनोद चौधरी विशुद्ध आपराधिक घटनामा मारिएका हुन् कि उनी कुनै राजनीतिक अभिष्टका शिकार भए?”
उक्त घटनालाई कतिपयले माओवादीले भन्ने गरेको ‘जनयुद्ध’को दोस्रो चरणको परीक्षण पनि ठान्लान्।
तर नबोलेरै गुप्तवास पसेका नेत्रविक्रम चन्दसँग उनको नामको पछाडि झुण्डिएको शब्द जस्तै ‘विप्लव’ निम्त्याउने सामर्थ्य छ? कि पछिल्ला हिंसामा अरु पनि कुनै स्रोत मिसिएको छ?
जिम्मेवार
आफ्नो दल जिम्मेवार रहे/नरहेकोबारे मुख खोल्नु पर्ने चन्द मौन छन्।
जुन कतिपयका नजरमा गैरराजनीतिक कोटिमा पर्दछ।
तर ती आशंका मिश्रित जिज्ञासा चन्दसामुन्ने सीमित रहने छैनन्।
सरकार र अहिलेको राजनीतिक प्रक्रियामा संलग्न दलहरु सामु साझा प्रश्नको रुपमा पनि उभिन पुगेका छन्।
फोटा–दिवंगत चौधरीका परिवारजन
-बीबीसी नेपालीबाट