
टर्कीले सिरियाको कुर्दिश लडाकु समूह वाइपीजीलाई समर्थन नगर्न अमेरिकालाई आग्रह गरेको छ।
सो लडाकु समूहविरूद्धको कारबाही तीव्र पारिरहँदा टर्कीले पछिल्लो आग्रह गरेको हो।
राष्ट्रपति रेजेप तय्यीप एर्दोआनको कार्यालयका एकजना प्रवक्ताले टर्कीको फौजविरूद्ध कुर्दिश लडाकुहरूले अमेरिकाले आपूर्ति गरेका अस्त्रको प्रयोग गरिरहेको बताए।
टर्कीको फौजले सिरियाको आफ्रिन क्षेत्रबाट वाइपीजी लडाकुहरूलाई धपाउने कोशिश गरिरहेको छ।
‘कैयौँ गाउँहरु टर्कीको नियन्त्रणमा’
अस्वीकार
टर्कीले वाइपीजीलाई एउटा आतंकवादी समूह र कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को विस्तारित संगठनका रूपमा हेर्दै आएको छ।
तर वाइपीजीले पीकेकेसँग आफ्नो प्रत्यक्ष सम्बन्ध रहेको अस्वीकार गर्दै आएको छ।

उत्तर-पूर्वी सिरियाका अधिकांश भूभागमाथि नियन्त्रण कायम गरेको वाइपीजी इस्लामिक स्टेटविरूद्धको कारबाहीमा अमेरिकाको एउटा महत्त्वपूर्ण साझेदार रहिआएको छ।
अंकाराले इस्लामिक स्टेटविरूद्धको लडाइँ सकिसकेको भन्दै वाइपीजीसँगको साझेदारी अन्त्य गर्न अहिले अमेरिकासमक्ष माग गरिरहेको छ।
निन्दा
राष्ट्रपति कार्यालयका प्रवक्ता इब्राहिम कालिनले भने, “सिरियासँगको हाम्रो सीमामा एउटा राज्यको जस्तै संरचना खडा गरेको हामीलाई सह्य हुँदैन।”
टर्कीले गरिरहेको कारबाहीका कारण आफ्रिनबाट हजारौँ मानिसहरू भाग्ने कोशिश गरिरहेको विवरण आएका छन्।
सिरियाली अधिकारकर्मीहरूका अनुसार टर्कीले शनिवार कारबाही शुरू गरेयता ७० जनाभन्दा बढी मानिसहरू मारिएका छन्।
सिरियाली राष्ट्रपति बशर अल-असदले ‘अतिक्रमण’को निन्दा गर्दै टर्कीले आतंकवादलाई सघाइरहेको आरोप लगाएका छन्।
बीबीसीबाट