
‘वीभत्स दृश्य र तस्वीर प्रकाशन प्रसारण गर्न नहुने ः समाजलमा नैराश्य, घृणा, सन्त्रास र उत्तेजना फैलाउने किसिमका नग्न, क्षतविक्षत र बीभत्स दृश्य एवं तस्वीरहरु असान्दर्भिक, अश्लील र उत्तेजना फैलन सक्ने प्रकारले प्रस्तुत गर्नुहुँदैन ।’
माथि उद्धृत गरिएको अंश पत्रकार आचारसंहिता २०६० (संशोधित परिमार्जित २०६४) मा उल्लेख गरिएको विषय हो । तर पत्रकारिताजगत् भने यो कुराप्रति खासै संवेदनशील बनेको पाइदैन । फोटो पत्रकारिताको अनिवार्य तत्व बन्न पुगेको छ । फोटोले समाचारलाई एकातिर विश्वसनीय तुल्याउँछ भने अर्कोतिर समाचारको प्रस्तुतिकरणलाई पनि थप सुन्दर बनाउँछ । त्यसैलै पत्रकारितामा यसको प्रयोग बढ्दो छ ।
तर वीभत्स दृश्य र तस्वीरहरुको संवेदनशीलतामा भने नेपाली पत्रकारिताको ध्यान पुग्न सकेको छैन । यसमा छापा पत्रकारिता तुलनात्मक रुपमा संयमित देखिन्छन् तर अनलाइन र टेलिभिजन पत्रकारिताले यस्ता कुराहरु रोक्न सकेको देखिदैन । यिनीहरुका समाचार हेर्दा लाग्छ, समाचार भनेकै त्यस्तै वीभत्स दृश्य र तस्वीरहरु नै हुन् । करेन्ट लागेर कसैको निधन भएको समाचार दिदा शवको वीभत्स तस्वीर नै प्रस्तुत गर्नुपर्छ भन्ने छैन । यहाँनेर त्यस्ता समाचारको विश्वसनीयता पनि खोजिदैन न त्यस्ता तस्वीरले समाचारको सौन्दर्यनै बढाउँछन् । आफैमा दुर्घटनाबाट हुने मृत्युका समाचार आम जनतालाई सजग गराउने कोणबाट लेखिनुपर्छ ताकि त्यस्ता दुर्घटनाबाट अरु क्षति नहोस् । तर समाचारमा दिइएका तस्वीरहरु सन्त्रास फैलाउने किसिमबाट प्रस्तुत गरिएको देखिन्छ । यस्तो प्रवृति अनलाइनहरुमा ज्यादा पाइन्छ । केन्द्रबाट प्रकाशन हुने ठूला मिडिया हाउसका अनलाइनहरु र यदाकदा छापामा समेत वीभत्स तस्वीहरु प्रकाशन गरिएको देखिन्छ । नियमनकारी निकायहरुको यसतर्फ ध्यान पु¥याएको पाइदैन । त्यस्ता सञ्चार माध्यममा पछिसम्म समाचार रहिरन्छ, जसका कारण सम्बन्धित परिवार थप पीडा भोग्न विवश हुन्छ । आजभोलि फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालले नेपाली जनजीवन पनि प्रभावित हुँदै गइरहेको छ । पत्रकारिता पनि सामाजिक सञ्जालमा जोडिएको छ भने पत्रकारिताबाट आम मानिसहरुले पनि व्यक्ति पत्रकारिताको सिको गरिरहेका छन् । संसारभर नै पत्रकारिता वा सञ्चार माध्यमहरु प्रति आम मानिसहरुको गहिरो विश्वास हुन्छ । यसैकारणले गर्दा मानिसहरु त्यस्ता कुराहरुको सिको गर्दछन् । नेपालमा सामाजिक सञ्जालमा हेर्ने हो भने त्यस्तो वीभत्स दृश्य र तस्वीरहरु पं्रकाशन भइरहेका पाइन्छन् । चित्तामा जल्दै गरेको तस्वीर देखि शवको तस्वीर खिच्न मानिसहरुको तछाडमछाड देख्दा लाग्छ नेपाली समाज संवेदनाहीन बन्दै गइरहेको छ । यसले पीडितमाथि थप पीडा थोपरेको पाइन्छ । हुनतः सामाजिक सञ्जाल संचालनको राज्यले कुनै नीति अख्तियार नगर्नुको परिणाम पनि यो भएको हो । यससम्बन्धी नीति पनि अतिआवश्यक भइसक्यो । परिवारका कुनै सदस्यको निधन भयो भने फेसबुक, ट्वीटर जस्ता सञ्जालमा तुरुन्तै पोष्ट गरिदिने कार्यले अर्को विपत्ति निम्त्याउने खतरा देखिएको छ । अर्को कुरा कोही कसैको मृत्यु मनोरन्जन विषयको हुन सक्दैन । फोटो खिच्ने कुरा प्रायशः मनोरन्जन विषय हो ।
अर्को यस्तै विषय छ, आत्महत्या । जीवनशैलीमा आएको परिवर्तन र संक्रमणका कारण पारिवारिक सम्बन्धहरु खुकुलो बनेका छन् । कामको व्यस्तासँग मानिसहरुमा तनाव पनि बढ्दो छ । यसले आत्महत्याको दर पनि बढ्दो छ । कुनै प्रकारका आत्महत्या क्षणिक आवेशमा पनि हुन्छन् भने कुनै गहिरो विषादका परिणाम हुन् । मनोविद्हरुका अनुसार आत्महत्याको मानिसले सजिलै अर्काको नक्कल गर्छ । त्यसकारण अब आम मिडियाले सोच्नुपर्ने भएको छ, आत्महत्याका समाचार दिने कि नदिने ? दिने हो भने त्यसबाट समाजलाई के कस्तो प्रभाव पर्छ ? नकारात्मक प्रभाव पार्ने अवस्था बढी देखिन्छ । त्यसकारण यस्ता समाचार नदिदा पनि केही फरक पर्दैन । यदि एउटा समाचार नदिएर अन्यलाई जोगाउन मिडियाले त्यसो किन नगर्ने ?