२९ असार २०८२, आईतवार

 

डिआईआरडिसी बागलुङले सञ्चालन गरेको प्लम्बर तालिमका सफल प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण

डिआईआरडिसी बागलुङले सञ्चालन गरेको प्लम्बर तालिम अन्तर्गत पहिलो ब्याचका सफल प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । ओएनजिडी–एफएनईएल नामक विदेशी संस्थाको सहयोगमा गरिएको ४ महिने प्लम्बर तालिमको पहिलो ब्याचमा सहभागी २२ जना मध्य २० जना पास भएकाले प्रमाणपत्र वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले युवा पुस्ताले स्थानीय स्तरमा मजदुर काम गर्न नरुचाउने एवं बैदेशिक रोजगारी मोहका कारण बाहिरी जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत मजदुरहरु ल्याएर काम गराउनु पर्ने अवस्था रहेको बताए । उनले नेपालमा श्रमिकलाई सम्मान गर्ने परिवेश नभएकाले पनि यस्तो समस्या देखिएकाले यसको दृष्टिकोणलाई बदलेर सुविधा बढाउनुपर्ने बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले युवा पुस्ताको बढ्दो बैदेशिक मोहलाई घटाएर स्वदेशमा नै स्वरोजगार बनाउन आवश्यक रहेको बताएका थिए । हरेक योजनामा दक्ष कामदारको सिर्जना गर्न सके भारतिय नागरिक ल्याएर काम गराउनु पर्ने अवस्था हट्ने उनीहरुको भनाई थियो । कार्यक्रममा ओएनजिडीका पल जेडीज, विवेक श्रेष्ठ, निरज शाक्य, कुमार सिलवाल, बागलुङ भगवती गुठीका अध्यक्ष राजु खड्का लगायतले बोलेका थिए ।
कार्यक्रम डिआईआरडिसी बागलुङका अध्यक्ष केवी राना मगरको अध्यक्षता र कार्यक्रम अधिकृत शालिकराम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच संस्थाले गरेको सर्भेमा पलम्बरहरु २ सय जना, टेलरिङमा काम गर्ने २ सय, ड्राईभिङमा ३ सय जना, फर्निचरमा ४ सय जना कामदार अझै अपुग छन् । यस्तै बिउटिसियन १ सय ५०, इलेक्ट्रिसियन १ सय ५०, सिकर्मी, २ सय ५०, डकर्मी १ सय, पेन्टर ९६, टायर र मार्वल बनाउने ३० जना, मन्टेश्वरीमा ३५ जना, जुत्ता बनाउने ८५ जना, स्टेशनरीमा २० जना, आलोमुनियममा १० जना र बुटिकमा ११५ जना अभाव रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung