२३ असार २०८२, सोमबार

 

सिम्रीक कृषि सहकारीले दियो सहकारी शिक्षा

- उत्पादनसंगै बजारीकरणमा ध्यान दिऔं ः जिसी

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले समृद्ध मुलुक निर्माणका लागि कृषिमा व्यवसायिकीकरण गरी उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिनु पर्नेमा जोड दिएका छन् । सिम्रीक कृषि तथा पशु व्यवासायिक सहकारी संस्था लिमिटेड बागलुङले सोमबार बागलुङ नगरपालिका वडा नंं. ४ कुडुलेमा आयोजना गरेको सहकारी शिक्षा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कृषकहरुले दुख कष्ट गरेर उत्पादन गरेका वस्तुले उचित मूल्य पाउने अवस्था नआउदासम्म उत्पादन नबढ्ने भएकाले बजारीकरणका लागि राज्यले योजना ल्याउनु पर्नेमा उनले जोड दिएका हुन् ।

तीन वटै तहका सरकारहरु समृद्धिको अभियानमा छन, समृद्धि कुरा गरेर आउदैन जिसीले भने–समृद्धिका लागि जनतालाई उत्पादनमा लगाउने र उनीहरुको उत्पादन सहजै विक्री वितरण हुने अवस्था सिर्जना गर्नु पर्छ ।

सहकारीहरु उत्पादन, प्रशोधन र बजारीकरणमा भन्दा पनि सहज रुपमा गर्न सकिने काममा बढी केन्द्रीत भएको भन्दै उनले सहकारीको योगदान बढाएर समृद्धिको अभियानलाई सफल पार्नका लागि सहकारी क्षेत्रले उत्पादनमा ध्यान दिनु पर्ने उनको सुझाव छ ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मणिभद्र शर्मा, बागलुङ नगरपालिका वडा नं. ४ का वडा सदस्य बाणिन्द्र बहादुर केसी, कुडुले ताजा तरकारी सहकारी संस्थाका सचिव टिकाराम सापकोटा लगाएतले सहकारीमार्फत कृषि क्षेत्रमा प्रभावकारी काम गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी ऐन र सहकारीमार्फत उत्पादनका विषयमा तथा संस्थाका अध्यक्ष लोकन्द्र पौडेलले सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्थाको वर्तमान अवस्था र आगामी योजनाका बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष लोकेन्द्र पौडेलको अध्यक्षता, सचिव चुणामणि उपाध्यायको संचालन र कोषाध्यक्ष जगन्नाथ सापकोटाको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा ९६ जनाको सहभागिता रहेको थियो । सो अवसरमा संस्थाले कृषकहरुलाई १० हजार मूल्य वराबरको काक्रो, मुला, रायो, सिमी लगाएतका तरकारीका विउ निशुल्क वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung