२५ असार २०८२, बुधबार

 

बाल मन्दिर प्रा.विमा दिवा खाजा कार्यक्रम शुरु

पर्वतको कुश्मा नगरपालिका –५ स्थित बाल मन्दिर प्राथमिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु भएको छ । नगरपालिका–५ वडा कार्यालयले बाल विकास कक्षाका सबै बालबािलकालाई दिवा खाजा उपलव्ध गराउन थालेको हो । अधिकाँस श्रमिकका बालबालिका अध्ययनरत उक्त विद्यालयमा नियमितरुपमा विद्यालय ल्याउने उद्देश्यका साथ वडा कार्यालयले दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याएको हो । उक्त विद्यालयमा ९० जना विद्यार्थी अध्ययनरत छन् ।
आर्थिकरुपमा अतिविपन्न श्रमिकका बालबालिका कक्षा छोडेर बस्न थालेपछि विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरी बालबालिकालाई विद्यालयमा टिकाउन खोजिएको वडा अध्यक्ष चित्रकला भारतीले जानकारी दिइन् । सामुदायिक विद्यालयमा आकर्षण बढाउँदै विद्यार्थीहरुको पोषणमा सुधार ल्याउने उद्देश्यले दिवा खाजा कार्यक्रम शुरु गरिएको हो ।
वडा कार्यालयले आज दिवा खाजा कार्यक्रम शुरु गदै विद्यार्थी र अभिभावकहरुलाई खाजा खुवाएको छ । वडाले बाँकी रहेको विद्यालयमा पनि दिवा खाजाको व्यवस्था गरिने वडा अध्यक्ष भारतीले बताइन् । दिवा खाजा कार्यक्रमका लागि वडा कार्यालयले १ लाख रकम विन्योजन गरेको छ । आर्थिक रुपमा खाजा ल्याउन नसक्ने अवस्थाका अत्यन्त विपन्न श्रमिकका बालबालिकालाई नियमित रुपमा खाजा उपलव्ध गराईने छ । इसिडीका सबै र विद्यालयमा अध्ययनरत कक्षा पाँचसम्मका बालबालिकालाई खाजा उपलव्ध गराउने विद्यालयका प्रधानाध्यापक लोकवहादुर रानाले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल विश्वकर्माले दिवा खाजा कार्यक्रमपछि कक्षा छाड्ने बालबालिकाको संख्यामा कमी आउने बताए । कार्यक्रमको कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीले उद्घाटन गदै वडा कार्यालयले पुनित कार्यको शुभारम्भ गरेको बताउँदै यसले अत्यन्तै राम्रो नतिजा दिने विश्वास व्यक्त गरे । उनले नगर स्तरिय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि नयाँ रणनिति बनाएर काम थाल्ने बताए । उनले विद्यालयको शैक्षिक गुणस्तरका लागि शिक्षक सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा कुश्मा नगरपालिका शिक्षा अधिकृत राजेन्द्रवहादुर क्षेत्रीले दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा लगायत जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
विद्यालयका अध्यक्ष निर्मल विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका निर्वतमान अध्यक्ष बसन्तवहादुर कर्माचार्य र कार्यक्रमको सञ्चालन शिक्षक प्रेमशर्मा पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung