
सन् २०१४ को जुलाई ९ मा खेलिएको विश्वकप फुटबलको त्यो खेल। आर्जेन्टिना भर्खरै नेदरल्याण्डस्लाई पेनाल्टीमा पराजित गरेर विश्वकपको फाइनलमा पुगेको छ। तर सबै जना त्यसको एकदिन अघिको डरलाग्दो सेमिफाइनल खेलकै नतिजा पत्याउने प्रयास गरिरहेका छन्।
आयोजक ब्राजिल जर्मनीसँग ७-१ ले हारेको थियो। अब के होला? भन्ने प्रश्न सबैले गरिरहेका थिए।
“के ब्राजिलले अब आफ्ना जरा र हाँगाबिँगासहित पूरै प्रणालीमा सुधार गर्ला?” खेल प्रस्तोता मार्क चापमेनले मलाई सोधेका थिए।
“मलाई त्यस्तै लाग्छ,” मैँले जबाफ दिएको थिए। तर मलाई डर थियो कि १० दिन शोक मनाएपछि फेरि सबैथोक पहिले जस्तै हुनेछ।
र हुन पनि त्यस्तै भयो।
अर्को गलत निर्णय
विश्वकपको केहि समयपछि नै ब्राजिलले आफ्ना पूर्व मध्यपङ्क्तिका खेलाडी डुंगालाई पुन: प्रशिक्षकमा नियुक्त गर्ने गलत निर्णय गर्यो।
उनले सन् २००६ देखि २०१० सम्म राष्ट्रिय टोली सम्हालिसकेका थिए। त्यसबाहेक उनको बाँकि अनुभव भनेको उनले ब्राजिलको क्लब इन्टरन्याशोनलको प्रशिक्षकको असफल भूमिका केही महिना निर्वाह गरेका थिए।
उनी जरैदेखि सुधार गर्नसक्ने मानिस थिएनन्। उनको नियुक्ति वास्तविकतालाई अस्वीकार गर्दै चालिएको कदम थियो।
यदी हामीमाथि आक्रमण भयो भने, ब्राजिलको फुटबल एशोशियसनले ठान्यो, हाम्रा मान्छे डुंगा हुन्। एक जना आक्रमक व्यक्तिका रुपमा डुंगाले आगोको बदलामा आगोले ने प्रहार गर्नेछन् भन्ने विश्वास त्यसबेला गरिएको थियो।
तर त्यसको दुई वर्षपछि सन् २०१८ को विश्वकप छनौट खेलका एक तिहाइ खेलहरू समाप्त भइसक्दा ब्राजिल स्वत: छनौट हुने टोली संख्या भन्दा बाहिर छैठौँ स्थानमा थियो। सबै विश्वकपका अन्तिम प्रतियोगिताहरूमा छनौट भएको ब्राजिलको गौरवपूर्ण इतिहास नै मेटिने हो कि भन्ने आशङ्का व्यक्त गरिदैँ थियो।
डुंगामाथि दबाब थियो। रिओ ओलिम्पिक्समा उनको सबैभन्दा ठूलो आशा थियो। यदी उनले फुटबलमा स्वर्ण पदक दिलाउन सकेको भए, उनको अवस्था थप बलियो हुने थियो र उनले थप समय पाउने पनि थिए।

त्यस्तो हुन पनि सक्थ्यो। तर ओलिम्पिक्सको केही अघि मात्रै कोपा अमेरिका एक सय वर्ष पुगेको अवसरमा संयुक्त राज्य अमेरिकामा विशेष संस्करणको प्रतियोगिता आयोजना गरिएको थियो। डुंगाको टोली इक्वेडरसँग बराबरी खेल्यो, परुसँग हार्यो अनि समूह चरणबाटै घर फर्क्यो।
त्यसपछि उनको जागिर संकटमा पर्यो र कोरिन्थियन प्रशिक्षक टिटे, जसलाई सन् २०१४ मा नै प्रशिक्षकको जिम्मेवारी दिइनुपर्ने मत प्रबल थियो, उनले ढिलो गरि टोली सम्हाले।
त्यसपछिको बाँकि इतिहास हो।
टोलीका सदस्यहरू खासै हेरफेर गरिएनन्। चीनमा खेलिरहेका पोलिन्होलाई फिर्ता बोलाइयो। त्यो एउटा विवादास्पद कदम भएपनि त्यसले उल्लेख्य सफलता दिलायो। र टिटेले जोखिम मोलेर किशोर ग्याब्रिएल जिससलाई मध्य पङ्क्तिबाट अगाडि खेल्ने जिम्मेवारी दिएर तत्कालै सकारात्मक परिणाम समेत प्राप्त गरिहाले।
यी दुई खेलाडी बाहेक अन्य सबै सदस्य उही रहेको टोलीले डुंगाको नेतृत्वमा भन्दा बिल्कुलै फरक परिणाम दियो। जटिल देखिएको छनौट चरण सहजै पार लाग्यो। टिटेको नेतृत्वमा ब्राजिलले १० खेल जित्यो, दुई खेल बराबरी खेल्यो, ३० गोल हान्यो र जम्मा तीन वटा खेलमा पराजित भयो। युरोपेली टोलीहरूसँगको मैत्रीपूर्ण खेलमा पनि उनीहरू राम्रो लयमा छन्। रूस विश्वकपमा खेल्न आइपुग्दा उनीहरू प्रतियोगिताका रुचाइएका अरू टोलीहरू जस्तै समर्थनयोग्य आधार सहित उपस्थित भएका छन्।
यहाँ एउटा महत्तवपूर्ण प्रश्न पनि उठ्छ – कसरी एक जना मानिसले यत्रो परिवर्तन ल्याउन सक्छन्?

ब्राजिलको नविनता
यसको दुईवटा जबाफ छन्। टिटेका सकारात्मक गुणमात्रै होइनन् उनका सहकर्मीका कमजोरीहरू र कमजोर अवस्थामा आफूलाई दिइएको जिम्मेवारीलाई जोडेर हेरिनुपर्छ।
त्यहाँ सफलताका खतरा र एक्लोपनका पीडा दुईवटा समस्या थिए।
ब्राजिलको फुटबल जन्मदै महान थिएन। उसले एउटा प्रक्रियाको परिणाम स्वरूप महानता हासिल गर्दै गयो। सन् १९५८ देखि सन् १९७० सम्म भएका चारवटा विश्वकपमा उनीहरूले तीनवटा जिते र त्यसबेला तयारी र ट्याक्टिस(कौशल) दुवैमा उनीहरू अन्य टोलीहरूभन्दा उम्दा थिए।
सन् १९५८ मा नै ब्राजिलसँग ठूलो संख्यामा डाक्टरहरू, एक जना दन्त चिकित्सक, शारीरिक तयारीका विज्ञ थिए। त्यसबेलै खेल सम्बन्धी मनोविश्लेषकलाई समेत प्रयोग गर्ने ‘आलोकाँचो’ प्रयास ब्राजिलले गरेको थियो।
- विश्वकप २०१८ बारे जान्नुपर्ने कुरा सात चित्रमा
- विश्वकप: के इतिहासले विजेता देखाउन सक्छ?
- ‘विश्वकप फुटबलमा अब भीएआर प्रविधि’
सन् १९५८ र सन् १९६२ का खेलाडी तथा सन् १९७० का प्रशिक्षक मारियु जागलुलाई मैँले सन् १९६२ को विश्वकप खेल्न इङ्ग्ल्याण्डको टोली चिकित्सक बिनै गएको थियो भनेर सुनाउँदा धन्नै उनी आफ्नो कुर्सीबाट लडेनन्।
र रणनीतिको सन्दर्भमा उनीहरूले युरूग्वे, आर्जेन्टिना र हंगेरीका प्रशिक्षकहरूबाट पनि केही कुराहरू लिएका थिए र सबैलाई एक ठाउँमा मिलाएर नयाँ कुरा पस्किएका थिए। रक्षापङ्क्तिमा चार जनालाई खेलाउने योजनाका उनीहरू अग्रणी थिए।
सन् १९५८ मा नै उनीहरूले पहिलो पटक विश्वकप युरोपमा जितेका थिए। त्यो रणनीतिका कारण उनीहरूले सेमिफाइनलसम्म एउटा पनि गोल खाएनन्। सन् १९७० सम्म पुग्दा उनीहरूको स्तर अझै माथि पुगेको थियो। जागलु त्यो अभूतपूर्व टोलीको प्रशिक्षक बन्न पाएकोमा प्रशन्न थिए र उनलाई अहिलेको आधुनिक फुटबलको ४-२-३-१ ढाँचाको अग्रणी मानिन्छ।

तर त्यत्रो सफलताले ब्राजिललाई अल्छी बनायो र आफू जन्मदेखी नै एकदमै दक्ष रहेको ठान्ने बनायो।
र जब खेल अघि बढ्दै गयो ब्राजिल खतरनाक रुपमा एक्लियो। कुनै पनि ब्राजिलका प्रशिक्षकहरू युरोपको उच्चस्तरको क्लबहरूमा काम गर्न कहिल्यै आएनन् र जो आए तिनिहरू पनि टिक्न सकेनन्।
ब्राजिल एक दशकअघिका स्पेनका प्रशिक्षक पेप ग्वार्डिओलाले गरेको क्रान्तिबाट पूर्ण रुपमा बेखबर जस्तै भयो।
ब्राजिलको फुटबलका धेरैले शारीरिक विकासक्रमले बललाई नियन्त्रण कायम गरिराख्ने किसिमले खेल्न गाह्रो भएको विश्वास गर्ने गरेका थिए। उनीहरूलाई लाग्थ्यो कि शक्ति आर्जन गर्ने तरिका भनेको तत्काल प्रत्याक्रमण गर्नु नै हो।
सन् २०१४ मा जर्मनीसँगको खेलसम्म आइपुग्दा त ब्राजिलहरू समय सकिएको औषधी जस्तो बनेका थिए। जर्मनीले ग्वार्डीओलाका अवधारणाहरूमा टेकेर ब्राजिललाई ७-१ गोल अन्तरले पराजित गरेको थियो।
टिटे–युरोपको शिक्षा
ब्राजिलको विफलता अपवाद भनेको उसले आफूलाई विकास गर्न र सिक्न चाहेको छ र त्यसको मेरूदण्ड टिटे बनेका छन्।
उनको बायोडेटा पहिलो पटक हेर्दा केही पनि अस्वभाविक छैनन्। उनले एकपछि अर्को जागिर खाएका छन् र अधिकांशमा हटाइएका पनि छन्। उनले युरोपमा कहिल्यै काम पनि गरेका छैनन्।
तर ५७ वर्षीया यी प्रशिक्षकको सञ्चार क्षमता निक्कै राम्रो छ। त्यसबाहेक उनी एकदमै जिज्ञासु छन्। विश्वकप छनौटमा उनको मुल मन्त्र ‘मैले कसरी सिक्ने भनेर जानेको छु’ रहेको थियो।

यसै शताब्दीको सुरुमा जब टिटेलाई चिन्न थालियो, उनको परिचय ३-५-२ विशेषज्ञका रुपमा रहेको थियो।
तर जब उनले ब्राजिलको इन्टरन्याशोनल क्लब सम्हाले उनी आर्जेन्टिनी मध्यपपङ्क्तिका खेलाडी आनद्रेश डि अलेसान्द्रो (जसले पोर्ट्रसमाउथमा पनि खेलेका थिए) सँग रमाए। उनले नै टिटेलाई युरोपको ४-४-२ ढाँचाबारे व्यख्या गरेका हुन्। उनलाई थप ज्ञानको भूत चढ्यो र त्यसपछि टिटेलाई उत्कृष्ट टोलीहरू कसरी खेल्छन् भन्ने जान्नका लागि युरोपमा लामो समय बिताएका छन्।
दक्षिण अमेरिकासँग तुलना गर्दा फुटबल टोलीहरू कसरी जोडिएर खेल्ने गर्छन् भन्ने कुरा एकदमै फरक छन्। उनले कोरिन्थियन टोलीलाई सन् २०११-१२ मा ब्राजिल र दक्षिण अमेरिकाको फुटबल उपाधि मात्रै दिलाएनन् उनको टोलीले चेल्सीलाई क्लब विश्वकप फाइनलमा पराजित गर्यो।
त्यो टोली एक गोलले जित्ने टोलीका रूपमा चिनिन्थ्यो। तर त्यसरी टाँस्सीएर खेल्दा खेल्न भने कठिन हुन्थ्यो। बलियो रक्षापङ्क्तिमा टोली निर्भर हुन्थ्यो।
तर टिटेले युरोपबारे अध्ययन गर्ने क्रममा उत्कृट टोलीहरूले मैदानमा कसरी अंक हात पार्छन र विपक्षी टोलीलाई हराउँछन् भन्नेतर्फ आफूलाई केन्द्रित गरे।
उनले सिकेका सबै कुराहरू सन् २०१५ मा कोरिन्थिन टोलीले ब्राजिलको क्लब उपाधि जित्दा लागु गराएका थिए। त्यसबेला तिनिहरू यस्तो टोली थिए जसले आक्रमणको सम्भावना निरन्तर खोजी रहन्थ्यो र एक अर्कालाई बल पास गर्ने विकल्पमा पनि खुल्ला रहन्थे।
र त्यो रणनीति नै अहिले टिटेले ब्राजिलको राष्ट्रिय टोलीमा ल्याएका छन्।
नोभेम्बर २०१६ मा आर्जेन्टिनालाई तीन-सून्यले ब्राजिलले हराएपछि आर्जेन्टिनाका प्रशिक्षक सिजर लुइस मेनोट्टीले मुक्तकण्ठले प्रशंसा गरेका थिए।
उनले भनेका थिए, “उनले रक्षापङ्क्तिलाई २० मिटर माथि ल्याएका छन् र टोलीलाई एक ठाउँमा राखेका छन्, यो सन् १९७० को ब्राजिल जस्तो देखिन्छ।”
नेमारको परीक्षा?
टिटे अहिले सबैतिर टेलिभिजन विज्ञापनमा छन्।
डुंगा सधैँ एक जना योद्धा जसरी प्रस्तुत हुन्थे तर अहिलेका ब्राजिलका प्रशिक्षक एक जना बुद्धिमान व्यक्ति जसरी प्रस्तुत हुन्छन् र सिधा आँखामा हेरेर संवाद गर्छन। एक जना आलोचकले त उनलाई ‘सर्पलाई पनि लठ्ठ बनाउनसक्ने’ व्यक्ति भनेका छन्।
अहिलेसम्म त ब्राजिललाई उनले लठ्ठ बनाएका छन्। विश्वकप छनौटमा उनको टोलीले पाएको ‘रेटिङ’ पनि उच्च थियो।

देशभित्र आर्थिक र राजनीतिक भद्रगोल जारि रहँदा ब्राजिलको राष्ट्रिय टोली आशाको दियो बनेको छ।
यदी टिटेलाई राष्ट्रपति चुनावमा लड्नु थियो भने उनी विश्वकप अघि नै टोलीलाई छाडेर जान्थे। उनको शैलीमा भन्नुपर्दा यस्ता गम्भीर विषयमा ठट्टा गर्न समेत उनी रूचाउँदैनन्।
यी प्रशिक्षकले आफूले नखोजीकनै स्ट्राइकर नेमार जत्तिकै चर्चा पाएका छन्। आगामी केही हप्तामा यी दुईबीचको सम्बन्धमा धेरै कुरा निर्भर हुनेछ।
सन् २०१४ मा जस्तो अहिले ब्राजिलको टोली नेमार एक्लैमा निर्भर छैन। चोटका कारण नेमार उपाचारमा रहँदा उनीबिनै मैत्रीपूर्ण खेलमा रुस र जर्मनीसँग जित हासिल गरेर ब्राजिलले त्यो देखाइसकेको छ।
तर नेमार टोलीमा रह्नुको ठूलो फाइदा पनि छ। उनी रहँदाका सम्भावित समस्या पनि छन्।
एउटा व्यक्तिको सफलता सदैव टोलीको हितमा नहुन पनि सक्छ जुन वेम्ब्लीमा नोभेम्बर महिनामा इङ्गल्याण्डसँग ब्राजिलले गोलरहित बराबरी खेल्दा पनि देखियो। त्यसबेला नेमार एकदमै धेरै आफूमा केन्द्रित भएका थिए।
नेमार एकदमै राम्रा छन् र उनले एकैछिनमा धेरै विकल्पहरू देख्न सक्छन्। दबाबमा उनले के टोलीका लागि राम्रो निर्णय गर्न सक्छन्? टिटेले उनले त्यस्तो गर्नसक्ने सुनिश्चित गर्नुपर्छ।
साथै उनले बेलाबेलामा रिसाएजस्तो देखिने नेमारका गतिविधि पनि नियन्त्रण गराउनु पर्नेछ।’फल’ आकर्षित गर्न सजिलै मैदानमा लड्ने गरेको आरोप नेमारमाथि लाग्ने गर्छ। त्यस्तो समयमा विपक्षीहरू आक्रोशित हुने गर्छन, खेलको पारो चढ्नेगर्छ र नेमार स्वयं त्यसको सिकार बन्नसक्ने आशंका पनि पाइन्छ।
१४ वटा छनौट खेलमा नेमारले ६ वटा पहेलो कार्ड पाएका थिए। विश्वकपमा त्यस्तो भयो भने उनले नकआउट चरणका महत्त्वपूर्ण खेल सजिलै गुमाउन सक्छन्।
र यस पटक ब्राजिल उनलाई आफ्नो विश्वकपको अभियानमा अन्त्यसम्मै राख्न चाहान्छ। टिटेको नेतृत्वमा ब्राजिलले छैठौँ पटक विश्वकप विजेता बनेर ६० वर्षअघि युरोपमा रचिएको इतिहास दोहोर्याउन चाहान्छ।बिबिसीबाट