
बागलुङ सदरमुकाममा रहेको रुद्रेपिपल माध्यामिक विद्यालयको नवनिर्मित ४ कोठे भवनको उद्घाटन गरिएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर २ मा २००९ सालमा स्थापना भएको विद्यालय हाताभित्र निर्मित सुबिधा सम्पन्न ४ कोठे भवनको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै मेयर पौडेलले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालयको ६६ औँ वार्षिकोत्सब तथा अभिभावक दिवसका अवसरमा नगर प्रमुख पौडेलले विद्यालयले भौतिकदेखि शैक्षिक क्षेत्रमा समेत राम्रो प्रगति गरेको कारणले पनि विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई बागलुङको ३६ लाख रुपैँया र विद्यालयको ४ लाख गरि कुल ४० लाख खर्चमा ४ कोठे भवन सम्पन्न भएको विद्यालय का प्रधानाध्यापक राजेश श्रेष्ठले बताउनुभयो ।
बालविकासदेखि कक्षा १० सम्म अध्यापन हुने बिद्यालयमा कक्षा ८ देखि १० सम्म अङ्ग्रेजी र नेपाली दुबै माध्यममा पढाइ हुने गरेको छ । हाल विद्यालयमा ५ सय ८३ जना बिद्यार्थी अध्ययनरत छन् । २२ जना शिक्षक रहेको यस बिद्यालयमा १० जना सरकारी र १२ जना निजी स्रोतबाट तलबभत्ता खाने शिक्षक रहेको विद्यालयले जनाएको छ ।
तलब भत्तामा मात्रै निजी स्रोतबाट २ लाख भन्दा बढी खर्च हुने गरेको जानकारी गराइएको छ । अहिले सामुदायिक विद्यालयको पढाइको गुणस्तर नभएको भनेर निजी विद्यालयमा बिद्यार्थी गइरहेको बेला बागलुङ सदरमुकाममा रहेको यस विद्यालयमा सस्तो सुलभ रूपमा गुणस्तरीय शिक्षा पाएपछि विद्यार्थीको चाप पनि ह्वात्तै बढेर गएको छ ।
कार्यक्रममा बागलुङ नगरपालिका–९ का वडा अध्यक्ष गणेश थापा, विद्यालयका सल्लाहकार केवी राना मगर, शिक्षक अभिभावक संघका अध्यक्ष नारायण पौडेल, पुर्व प्रध्यानाध्यापक ममतादेवी शर्मा,लालचन्द्र राजभण्डारी, विद्यालय व्यवस्थापन समिति सदस्य संदिप थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृतबहादुर खड्काको अध्यक्षता, शिक्षक बिष्णुप्रसाद शर्माको स्वागत र सोमनाथ शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।