
काठमाडौं । चार दिनदेखि राजधानी केन्द्रित भएर स्वतः स्थायीको माग सहित आन्दोलनमा उत्रिएका राहत कोटा तथा बालविकासका शिक्षकहरु आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । बुधबार राति शिक्षा मन्त्रालयसँग भएको वार्तामा उनीहरुले स्थायीको प्रकृिया तोके बमोजिम हुने सहमती भएपछि आन्दोलन फिर्ता भएको हो ।
सामुदायिक विद्यालयमा कार्यरत राहत अनुदान कोटामा नियुक्त शिक्षक र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई निश्चित मापदण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी आन्तरिक र खुल्ला प्रतियोगितात्मक परीक्षामा एकपटकका लागि उमेरको हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजानका लागि आवश्यक प्रबन्ध गर्नेु लेखिएको थियो ।
शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षक बीच भएको सहमतिमा उक्त बुँदामा तोके बमोजिम शब्द थप गरेर हस्ताक्षर गरिएको छ ।
तीन बुँदे सहमतिपत्रको बुँदा नम्बर १ मा पहिले लेखिएको ढाँचामा तोके बमोजिम भन्ने शब्द थप गरेपछि आन्दोलनरत शिक्षक सहमतिमा आएका हुन् ।
आन्दोलनरत नेपाल राहत तथा बालविकास शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्ण बहादुर मगर, शिक्षा सचिव खगराज बराल, शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा सहित शिक्षकका नेता कार्यकर्ता सहित भएको छलफल पछि २१ जनाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
शिक्षहरुको राजधानी केन्द्रित आन्दोलनमा भएको घरपकड र घटनाप्रति दुःख ब्यक्त गर्दै घाईतेहरुको उपचारका लागि आवश्यक प्रबन्ध गर्ने पनि सहमति पनि भएको छ । शिक्षक महासंघका पदाधिकारीहरु सहित भएको उक्त वार्तामा पठन पाठन अवरुद्ध हुने गरी संचालित आन्दोलनका सम्पूर्ण कार्यक्रम सहित बन्द फिर्ता गर्ने सहमती भएको छ ।
शिक्षक अभाव टार्न विभिन्न समयमा नियुक्त करिब ४० हजार राहत शिक्षकलाई दरबन्दीमा परिणत गरी ८० प्रतिशत खुल्ला र २० प्रतिशत आन्तरिक प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने शिक्षा ऐनको प्रस्ताव विरुद्ध स्वतः स्थायीको माग सहित शिक्षकहरु आन्दोलनमा थिए । निश्चित समयका लागि नियुक्त उनीहरुको स्वतः स्थायीको माग सार्वजनिक शिक्षा सुधारका लागि घातक भन्दै आलोचना हुँदै आएको छ ।