
बागलुङ। ४ नम्बर प्रदेशमा कायर्रत ‘गुड नेवर्ड इन्टरनेशनल’ नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले २८ औं स्थापना दिवसको अवसरमा बिहीबार बेनी नगरपालिका २ बगरफाँटको सरस्वती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक वितरण गरेको छ । सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत ५९ जना बालबालिकाहरुलाई एक–एक सेट पोशाक कापी, कलम र पेन्सिल सहितका शैक्षिक सामग्री उपलब्ध गराएको हो ।
सन १९९१ मा दक्षिण कोरियामा स्थापना भएको गुड नेवर्सले २०१३ देखि म्याग्दीको धवलागिरी गाउँपालिकाको सबै वडामा शिक्षा, स्वास्थ्य, कृषि, आयआर्जन लगायत क्षेत्रमा स्थानीय साझेदार संस्था संगम र कदमको सहकार्यमा म्याग्दी सामुदायिक विकास परियोजना सञ्चालन गरेको छ ।
परियोजनाले २८ वटा विद्यालयको एक हजार ४ सय ५० जना विद्यार्थीहरुको शिक्षामा सघाउदै आएको छ । सरस्वती आधारभुत विद्यालयका अधिकांश विद्यार्थीहरु गरिबी र विपन्नताका कारण पोशाक बिनै विद्यालय आउने गरेकाले विद्यालयको माग र आवश्यकता अनुसार शैक्षिक सामग्री सहयोग गरिएको संस्थाका जिल्ला संयोजक राजेन्द्र लोहारले बताए । विद्यालयका दुई जना विद्यार्थी आमाबुवाले छाडेर गएपछि वृद्धा हजुरआमासँग शौचालयका लागि बनाएको भवनमा बसेको सम्बन्धी समाचार सार्वजनिक भएपछि संस्थाको टोली विद्यालयमा पुगेको थियो ।
वडा कार्यालयको पहलमा शौचालयमा बस्दै आएका जमुना परियार र उनका नातीहरुलाई कोठाको व्यवस्था गरिएपनि धेरै विद्यार्थीले पोशाक नलगाएको र प्रअको सल्लाह अनुसार पोशाक वितरण गरेको लोहारले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीको अध्यक्षता र संस्थाका जितेन्द्र धामीले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा अध्यक्ष हिराबहादुर थापाले शौचालयबाट कोठामा व्यवस्थापन गरिएका जमुना परियारको आवास व्यवस्थापनका लागि पहल गरिएको बताए ।