
ललितपुर। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले राज्यले लिएको समृद्धिको अभियान सफल बनाउन सरकार र सहकारी संगसंगै अगाडि बढ्नु पर्नेमा जोड दिएकी छन्। राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभागीय मन्त्रालयका मन्त्री, सचिव, रजिष्ट्रार सहितको टोलीलाई बैंकको अवस्थाका बारेमा जानकारी दिदै यस्तो बताएकी हुन् ।
राज्य सञ्चालन गर्नेहरुको सहकारीलाई हेर्ने दृष्टिकोण फरक भएको गुनासो आफुले धेरै पटक सुनेको भन्दै उहाँले संविधानले अंगिकार गरेको, सरकारले अपनत्व लिएको विषयलाई बेवास्ता गरेर अगाडि बढ्ने काम कसैले पनि गर्न नहुने उनले बताइन् ।
सरकाले लिएको लक्ष्य पुरा गर्नका लागि सहकारीसंगको सहकार्य अनिवार्य छ, त्यसका लागि सहकारीमैत्री नीति नियम निर्माण र सोही अनुसारको कामका लागि अनुगमन समेत गरिने बताइन्। सहकारी ऐनमा सुधार गर्न पर्ने विषयमा समयक्रममा संशोधन गर्दै जान सकिने भन्दै मन्त्री अर्यालले सहकारीलाई ठेस लाग्ने गरी कानुन नबन्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले अझै पनि नीति निर्माण र कार्यान्वयन गर्ने तहमा सहकारीलाई प्राथमिकता दिन पर्छ भन्ने भावनाको विकास नभएको भन्दै त्यसका लागि सहकारी अभियानका तर्फबाट दबाव दिइने बताउनु भयो । उहाँले विपन्न वर्गका लागि परिचालन हुने बजेट सहकारी बैंकलाई नदिने राज्यको काम हेपाहा प्रवृतिको भएको भन्दै त्यसो नगर्न सुझाव दिए ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारीमार्फत देशको समग्र अवस्था सुधारका लागि सरोकारवालाहरुबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए। उहाँले राष्ट्र बैंक, मन्त्रालय र सहकारी बैंकबीच समन्वय गरेर बैंकका सेवा सुविधालाई सहज बनाउन पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, सदस्य सचिव चक्रबहादुर पराजुली, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव चन्द्रकला पौडेल, सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डे लगायतको सहभागिता रहेको थियो ।
सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीले विपन्न वर्ग, गरिबी निवारण कोष लगायतमा रहेको रकम लक्षित वर्गमा पु¥याउनका लागि देशव्यापी नेटवर्क भएको सहकारी बैंकमार्फत परिचालन गर्न माग गरे । बैंकका अध्यक्ष उप्रेतीको अध्यक्षता र सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बैंकको परिचय, वर्तमान अवस्था र आगमी योजना तथा बैंकमार्फत सहकारी अभियानको प्रभावकारितामा खेल्न सक्ने भूमिकाका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहजीकरण गरेका थिए ।
बैंकले देशभरका सहकारी संघ संस्थाहरुको प्रवर्द्धनमा योगदान गर्दै आएको तर राज्यको सहयोग नभएका कारण सस्तो ब्याजदरमा उत्पादनका क्षेत्रमा लगानी गर्न नसकिएकोले मन्त्रालयको सहयोग आवश्यक रहेको सो अवसरमा बताइएको थियो ।