२७ असार २०८२, शुक्रबार

 

लक्ष्य प्राप्तिका लागि सहकारीलाई राज्यको सहयोग आवश्यक

बागलुङ। राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले संयुक्त राष्ट्र संघले अगाडि बढाएको र नेपाल सरकारले अंगिकार गरेको दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको भूमिका प्रभावकारी बनाउन राज्यले सहयोग गर्नु पर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बागलुङको आयोजना तथा जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको संयोजनमा मंगलबार म्याग्दीको बेनीमा आयोजित ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ विषयक गोष्ठीमा बोल्दै उनले बताएका हुन्।


दिगो विकास लक्ष्य अन्तर्गत रहेका सहकारीसंग सम्बन्धित गरिबीको अन्त्य, भोकमरीको अन्त्य, स्वास्थ्य, शिक्षा, लैंगिक समानता लगायतका विषयलाई केन्द्रीत गरेर योजना निर्माण गरी अगाडि बढ्न उनले सहकारीहरुलाई आव्हान गरे।
सहकारीहरुले दीगो विकास लक्ष्य अन्तर्गतका विषयमा केन्द्रीत रहेर योजना निर्माण गरेमा सहकारी बैंकले वित्तीय तथा क्षमता विकासका कार्यक्रममा सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे।

कार्यक्रममा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहजीकरण गरेका थिए । सहकारीहरुले रणनीतिक योजना, वार्षिक कार्यक्रम बनाउँदा दिगो विकास लक्ष्यका सूचकांकहरुलाई ध्यान दिएर निर्माण गर्न उनले आग्रह गरे ।

कार्यक्रममा बचत तथा ऋण सहकारी संघ म्याग्दीका अध्यक्ष अमृता भण्डारी, जिल्ला सहकारी संघ म्याग्दीको पूर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा लगायतले सहकारीहरु सुशासनमा रहेर दिगो विकास लक्ष्य प्राप्तिको अभियानमा केन्द्रीत हु पर्नेमा जोड दिए ।

कार्यक्रम जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक)को अध्यक्षता, सचिव ज्योती लामिछानेको सञ्चालन र राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय बागलुङका शाखा प्रमुख शैली खड्काको स्वागतमा सम्पन्न भएको थियो ।
यसैबीच जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीले राष्ट्रिय सहकारी बैंकको १५ औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष के.बी.उप्रेती र सञ्चालक तथा गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीलाई सम्मान गरेको छ । सहकारी अभियानमा निरन्तर लागेर योगदान गरेको भन्दै संघले सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung