३२ असार २०८२, बुधबार

 

शिक्षाप्रेमीको सहयोगमा ठडियो विद्यामन्दिरको नयाँ भवन

बागलुङ। राणाकालिन समय (वि.सं. १९९७) मा स्थापना भएको देशकै एक पुरानो ऐतिहासिक विद्यालय विद्यामन्दिर माविको नयाँ भवन निर्माण सम्पन्न भएको छ । नवनिर्मित भवन हालै भव्य समारोहबीच पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले उद्घाटन गरे ।

उनले विद्यालयको गरिमाकै कारण भवन सहजै निर्माण सम्भव भएको बताए । ‘उज्यालो छर्ने अभियानका लागि जुन भूमिका त्यो बेलाका संस्थापकले खेले, त्यसैका कारण आज विद्यालयको सुविधासम्पन्न भवन सम्भव भएको हो,’ उनले भने । बागलुङ जिल्लाका तीन महत्वपूर्ण कुरामध्ये कालिका भगवती, कालीगण्डकी र अर्को विद्यामन्दिर नै रहेको श्रेष्ठले औंल्याए । उनले जीवनमा आफू एकचोटि फेल भएको र त्यही असफलताले नै अगाडि बढ्ने बाटो खोलिदिएको स्मरण गरे ।

‘भवन निर्माण महत्वपूर्ण कुरा हो, त्यसभन्दा महत्वपूर्ण कुरा शैक्षिक प्रगति हो । शिक्षा प्रणाली राम्रो भए मात्रै अरू कुरा राम्रो हुन्छ,’ श्रेष्ठले भने, ‘पाठ्यक्रममा हिजो जुन समस्या थियो, आज पनि त्यही छ । पाठ्यक्रममै सुधार गर्न जरुरी छ । यो नभएसम्म परिवर्तन सम्भव छैन ।’ उनले देशमा नेताहरूको मात्रै पुनः संरचना भएको भन्दै शिक्षाक्षेत्रजस्ता जनताका प्रत्यक्ष सरोकारका विषयमा पनि पुनः संरचनाको आवश्यकता औंल्याए ।

कार्यक्रममा पूर्वराज्यमन्त्री चम्पादेवी खड्का, प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, नागरिक संचार प्रा. लिका अध्यक्ष पुष्पमान श्रेष्ठ, बागलुङ–काठमाडौं सम्पर्क मन्चका अध्यक्ष विराटकुमार श्रेष्ठ, स्थानिय दाताका तर्फबाट सुदेशचन्द्र राजभण्डारीलगायतले विद्यालयको भौतिक सुधार हुनु सकारात्मक भए पनि शैक्षिक सुधार गरेर जानु प्रमुख विषय भएको धारणा राखे ।

कार्यक्रममा नयाँ भवन बनाउन आर्थिक सहयोग गर्ने दाता र भवन निर्माण समितिका पदाधिकारीलाई सम्मानपत्र प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवासचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माण समिति अध्यक्ष लालचन्द्र राजभण्डारीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन प्रधानाध्यापक जगन्नाथ आचार्यले गरेका थिए ।

चार वर्षअघिको शक्तिशाली भूकम्पले विद्यालय भवन क्षतिग्रस्त भएको थियो । भवन पुनर्निर्माणका लागि विद्यालयले श्रीमदभागवत महायज्ञ लगाएर ५ करोडभन्दा बढी रकम संकलन गरेको थियो ।

विद्यामन्दिर मावि वि.सं. १९९७ सालमा स्थानीय शिक्षासेवी ओमप्रसाद गौचन र मेघकुमार वैद्यको सक्रियतामा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung