
काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदले संसदमा उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रयोग भएका शब्द संसदीय मर्यादाविपरीतका रहेकाे ठहर गर्दैं रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
सभामुख महराले शुक्रबार प्रतिनिधिसभा बैठकको सुरूमै प्रधानमन्त्री र विपक्षी सांसदहरूले प्रयोग गरेका अमर्यादित शब्द प्रयोग भएकोमा अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् । सरकारको नीति तथा कार्यक्रमबारे सम्माननीय प्रधानमन्त्रीले स्पष्टिकरण तथा माननीय सदस्यको जिज्ञासाको क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकूल नभएका शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन गर्छु,’ उनले भने।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले समर्थनमा टेबल ठटाए भने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले सांसदहरूले प्रश्न सोध्ने क्रममा प्रयोग गरेका संसदीय मर्यादा अनुकूलका शब्द पनि हटाउनु पर्ने माग गरेका थिए । त्यसपछि सभामुखले सांसदका शब्द पनि अभिलेखबाट हटाउन निर्देशन गरेको पुन जानकारी गराएका थिए । संसदमा प्रधानमन्त्री ओलीले प्रश्न सोधेका प्रतिपक्षी सांसदलाई ‘निम्छरो’ भनेको भन्दै प्रतिपक्षी दल कांग्रेसले शब्द अभिलेखबाट हटाउन माग गरेको थियो।
संसदमा प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवाले अभिलेखबाट गैरसंसदीय शब्द नहटाएको भन्दै सभामुख निरिह, काँतर र कमजोर भएको टिप्पणी गर्दै आएका थिए । हिजो मात्र सभापति देउवाले बिरगंज पुगेर सभामुखको जिम्मेवारी सन्तोषजनक र संसदीइ मर्यादा अनुकुल नभएको आरोप लगाएका थिए ।