
पर्वत । पर्वतको कुश्मा बजार स्थित गुप्तेश्वर गुफा नजिक पहिलो विराट गुप्तेश्वर महायज्ञ शिवपूराण, कोटीहोम तथा तुलादान महायज्ञ शुरु भएको छ । बिहिबारबाट शुरु भएको महायज्ञ सप्ताहसम्म चल्ने छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले महायज्ञको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै तिमिल्सीनाले पर्वत चिनाउने अभियानका रूपमा शुरु भएको महायज्ञ सफल हुने विश्वास व्यक्त गरे । उनले धर्मका नाममा हुने विभेद्को अन्त्य गर्नुपर्ने बताए । एउटा धर्म मान्ने व्यक्तिले अर्को धर्म मान्ने व्यक्तिलाई असमान व्यवहार गर्न नहुने कुरामा सबै सचेत हुनुपर्ने उनकाे विचार छ । अध्यक्ष तिमिल्सीनाले सबै नेपालीलाई धर्म मान्ने स्वतन्त्रता रहेको उल्लेख गर्दै धर्मका नाममा कुनै पनिद्व न्द आउन दिन नहुने बताए ।
नेपालमा अहिलेसम्म धार्मिक सहिष्णुताको स्थिति रहेको प्रसंग निकाल्दै यसलाई जिवितै राख्नुपर्ने कुरामा उनले जोड दिए । जिल्लाको गुप्तेश्वर गुफा र कालीगण्डकी नदीको धार्मिक महत्वलाई उजागर गर्न महायज्ञ सफल हुने उनकाे विश्वास छ ।
कार्यक्रममा महायज्ञका प्रमुख संरक्षक तथा प्रमुख वाचक ईश्वरकृष्ण भुर्तेलले पर्वत धार्मिक आयमले भरिपूर्ण भएपनि आझेलमा परेको हुनाले आफुले अगुवाई गरेर महायज्ञ शुरु गरेको जानकारी गराए । उनले पुराणहरु र धार्मिक ग्रन्थमा पर्वत जिल्ला पार्वतीको जन्मथलो र गुप्तेश्वर गुफा शिव पार्वतीको क्रिडास्थल रहेको तथ्य रहेको स्पष्ट पारे ।
कार्यक्रममा प्रतिनिधी सभाका सदस्य पदम गिरी, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, पूर्व सांसद ऋषिकेश तिवारी र कल्पना चापागाई , प्रदेश सभाका सदस्य ललितकला गुरुङ, जुनादेवी नेपाली, जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेकपा नेता भक्त कुँवर, नेपाली कांग्रेसका जिल्ला उपसभापति दुर्गाबहादुर खत्री, नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रनिश गिरी, व्रहमकुमारी सुधा लगायतले सफलताकाे कामना गरे ।
कार्यक्रममा गुप्तेश्वर वेदवेदाङ्ग पाठशालाका बटुकहरुले स्वस्तिवाचन गरेका थिए भने स्वागत मुल संयोजक पृथ्वीनारायण शर्मा र सञ्चालन महासचिव अच्यूत तिवारीले गरेका थिए । महायज्ञ शुरु हुनु अगाडी कुश्मा बजारमा झाँकी, बाजागाजा, भजनर्कितन सहित कलशयात्रा गरिएको थियो । आजबाट कथावाचन, तुलादान र कोटीहोमका सबै कार्यक्रम शुरु हुँदैछन् ।
मुल संयोजक पृथ्वीनारायण शर्माले अहिलेसम्म १४५ जनाले एक लाख रुपैयाँ सहयोग गरेर मुल समिति बनेको र ३ हजार बढिले तुलादानका लागि फारम भरेको जानकारी गराए । महायज्ञमा संकलित रकमबाट विश्वकै अग्लो शिवपार्वतीको मूर्ति बनाउने, गुप्तेश्वर परिसरमा २०८ कोठाको धर्मशालासहित सत्सङ्ग, आश्रम र भव्य सिसमहल निर्माण गर्ने उद्देश्य राखेर महायज्ञ शुरू भएकाे छ ।