
काठमाडौं । संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरुद्धमा आज पत्रकारहरुले देशभर विरोध जनाएका छन् । राजधानीको नयाँ वानेश्वरमा रहेको व्यवस्थापिका संसद भवनको अगाडी पनि प्रदर्शन गरेका छन्।
पत्रकार महासंघले हिजो विज्ञप्ती निकालेर पहिलो चरणको आन्दोलनको अन्तिम दिन आज पत्रकारहरुलाई आफ्ना सञ्चार साधनसहित प्रदर्शनमा उत्रन आग्रह गरेको थियो । त्यसै अनुसार पत्रकारहरु विधेयकका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै विरोधमा छन् । नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकारहरु यतिबेला आन्दोलनमा छन् । महासंघले सञ्चारसम्बद्ध संघसंगठन र सरोकारवाला पक्षसँग छलफलसमेत गरिसकेको छ।
काठमाडौंबाहिर पनि आज जिल्ला सदरमुकाममा पनि सञ्चार साधनसहित प्रदर्शन भएका छन्।
बागलुङका पत्रकार पनि सडकमा
सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयक तत्काल शंशोधनको माग गर्दै बागलुङका पत्रकारहरुले सञ्चार सामग्री सहित विरोध प्रर्दशन गरेका छन् । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको अगुवाईमा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय, बागलुङ अगाडि आफ्नो कलम, डायरी, क्यामेरा, भ्वाइस रेकर्डर, ल्यापटप लगायतका सञ्चार सामग्री सहित विरोध प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले लोकतन्त्रकै लागि लडेर आएको पार्टी सम्वद्ध लोकतान्त्रिक सरकारले समाचार लेखेकै आधारमा पत्रकारलाई लाखौं रुपैयाँ जरिवाना तिर्नुपर्ने र जेल जानुपर्ने कानुन बनाउन खोज्नु बिडम्बना भएको बताए ।
‘सरकारले प्रेसलाई नियमन गर्नु अन्यथा होइन, तर अहिले नियन्त्रण नै गर्ने नियत राखेर विधेयक ल्याइएको छ, यो गम्भिर विषय हो,’ उनले भने, ‘पत्रकारितालाई व्यवस्थित, मर्यादित बनाउने नाममा नियतवस आएका बुँदाले प्रेस स्वतन्त्रतामा कुनै पनि बाहनामा आक्रमण गर्नेछ, यसले प्रेस स्वतन्त्रता सँगै अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रमा समेत प्रभाव पार्न सक्ने खतरा देखिन्छ, यसमा पत्रकार मात्र नभई नागरिक समाज लगायत सम्वद्ध पक्ष पनि गम्भिर बन्न आवश्यक छ ।’
क्रियाशिल महिला पत्रकार समूहका अध्यक्ष तथा महासंघका सल्लाहकार कोपिला कंडेलले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने गरि ल्याइएको विधेयक नसच्याए दुर्भाग्य हुने बताइन्।
‘काउन्सिलबाट जारी भएको आचार संहिता विपरित कुनै सामाग्री प्रकाशन वा प्रसारण गरेको कारण मर्यादावा प्रतिष्ठामा आँच पुर्याएको पुर्याएको भनी सम्बन्धित व्यक्तिले दफा १६ बमोजिम दिएको उजुरी उपर दफा १७ बमोजिम जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठा आँच पुर्याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक सम्पादक, पत्रकार वा संवाददातालाई पच्चिस हजार रुपैयाँदेखि दश लाख रुपैँयासम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिने छ ।’ विधेयकमा उल्लेख छ