
बागलुङ । जिल्लाको रामरेखा आधारभूत विद्यालयमा अध्ययनरत शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई ह्वील चियर सहित शैक्षिक सामग्री प्रदान गरिएको छ ।
एमएमएस इभेण्ट ग्रुप डेनमार्कले पोखरा सुकुम्बासी बस्तीका ७ वर्षिय शुष्मा रुचाललाई हिँड्डुल गर्न आवश्यक ह्वील चियर सहित शैक्षिक सामग्री प्रदान गरेको हो ।
पत्रकार महेशकुमार खाति, महेन्द्र खड्का र सोवित जिसीले विभिन्न कार्यक्रम गर्न, सामाजिक परोपकारका काम गर्न संयुक्त रुपमा एमएमएस ग्रुप बनाएका हुन् । ग्रुपका तर्फबाट पठाइएको रकमबाट ल्याइएको ह्वील चियर र शैक्षिक सामग्री नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले छात्रा शुष्मा रूचाल र विद्यालयका प्रधानाध्यापक धनकुमारी पराजुलीलाई हस्तान्तरण गरेका थिए ।
रुचाल अपांगताका कारण जन्मिएदेखी आमा बुवाको माया, अभिभावकत्वबाट बञ्चित छिन् ।
जसका कारण पठन पाठन, हिँड्डुल गर्न पनि समस्या भएको समाचार देखेपछि ह्वील चियर सहित शैक्षिक सामग्री सहयोग गरिएको पत्रकार महेशकुमार खातिले बताए । ‘यो ठुलो सहयोग र प्रचारका लागि कदापी होइन’, उनले भने, ‘सानो सहयोगले बालिकाको हिँड्डुल र पठन पाठनमा सहज होला भन्ने हिसावले सहयोग गरेका हौं ।’
हाल रामरेखा आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत रुचाल ह्वील चियर नहुँदा घस्रेर हिँड्दा घुडामा घाउ बनेको छ । रुचाललाई बाआमाको अभिभावकत्व प्राप्त नभए पनि हजुरआमा पवित्रा रुचालले हुर्काउदै पढाउदै आएकी थिइन् । यस ग्रुपले दुई महिना अघि गुल्मीमा रहेको अटिजम पाठशालालाई एक लाख ४७ हजार सहयोग गरेको थियो ।
सोही अवसरमा विद्यालयका लागि आवश्यक अर्को एक ह्वील चियर समेत तेजप्रसाद न्युरेको पहलमा हस्तान्तरण गरिएको थियो ।