
सरकारले मिडिया काउन्सिल विधेयकमार्फत जनताको मुख थुन्न खोजेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन बागलुङको २०औं स्थापना दिवसका अवसरमा हालै आयोजित कार्यक्रममा उनीहरूले आलोचना सहन नसक्नेहरूले प्रेसमाथि आक्रमण गर्ने गरेको भन्दै विधेयक त्यसैको उपज भएको आरोप लगाए ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले मिडिया विधेयक अधिनायकवादी र फाँसीवादी चरित्र बोकेर आएको बताए । ‘तपाईंहरूले कार्यक्रममा बोलाएपछि मैले पनि यो मिडिया विधेयक पढें,’ उनले भने, ‘यो अहिलेको अभिव्यक्ति स्वतन्त्रतालाई रोक्ने गरी आएको छ । यो फाँसीवादी र अधिनायकवादी शैलीको छ ।’ निरंकुशताले जनताको आवाज थुन्ने प्रयासमा आफ्नै अन्त्यको बाटो खोल्ने उनको भनाइ छ । ‘यो विषयमा नियत प्रस्ट देखिन्छ,’ ढुंगानाले भने, ‘यो विधेयक राम्रो नियतले आएको छैन ।’
नेपाली कांग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाले दुई तिहाइको डर देखाएर सरकार हरेक क्षेत्रलाई कमजोर पार्ने दाउमा लागेको बताए । ‘अदालत, संसद् सबैलाई दुई तिहाइको नाममा निकम्मा बनाउने काम हुँदै गएको छ,’ उनले भने, ‘यो लोकतन्त्रका लागि उपयुक्त विषय होइन ।’ नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य ज्ञानेन्द्र गौतमले लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता अनिवार्य विषय भएको बताए । ‘प्रेस स्वतन्त्रता र नागरिकअधिकार लोकतन्त्रका आधारभूत पक्ष हुन्,’ उनले भने, ‘अहिलेको सरकार लोकतान्त्रिक चरित्रभन्दा बेग्लै ढंगले अगाडि बढ्न खोज्दै छ ।’
नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष दिल शिरीषले प्रेस स्वतन्त्रता पत्रकारका लागि मात्रै नभई आमनागरिकका लागि पनि आवश्यक रहेको औंल्याए । ‘झट्ट हेर्दा प्रेस स्वतन्त्रता पत्रकारका लागि मात्र हो कि जस्तो लाग्छ, त्यसो होइन,’ उनले भने, ‘यसले विस्तारै नागरिकका आवाज बन्द गर्न थाल्छ । हामी अहिले नै सचेत बनेनौं भने नियतसँग जोडिएर आउने यस्ता कुराले धेरै ठूलो अप्ठ्यारो पार्छ ।’ कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य जगदीशचन्द्र उपाध्याय, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय महिला उपाध्यक्ष शकुन्तला शर्मा, प्रेस युनियन बागलुङका पूर्वअध्यक्ष जगन्नाथ आचार्य, अन्नपूर्ण पोष्ट गण्डकी प्रदेश संयोजक केशवशरण लामिछाने, प्रगतिशील पत्रकार संघ बागलुङका अध्यक्ष रामनारायण सुवेदीले मिडिया काउन्सिल विधेयक पत्रकारितालाई खुम्च्याउने र नियन्त्रण गर्ने प्रयासमा रहेको उल्लेख गरे । नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री हरिहर शर्मा, प्रेस युनियनका पूर्वसचिव विकास पौडेल, पत्रकार किरण आचार्य, नवीनशिशिर विक, राजेशचन्द्र राजभण्डारीले सत्तामा पुगेपछि प्रेसलाई बाधा देख्ने प्रचलनलाई समस्याका रूपमा औंल्याए ।
‘अहिले सरकार मिडिया काउन्सिल विधेयकमार्फत जनताको आवाज दबाउन खोजिरहेको छ,’ सहभागीले भने, ‘तत्कालका लागि यो पत्रकार र सञ्चारमाध्यमप्रति लक्ष्यितजस्तो देखिन्छ । पछि गएर यसको प्रतिफलस्वरूप जनताले आफ्नो वाक् स्वतन्त्रता उपभोग गर्न नसक्ने अवस्था सिर्जना हुनेछ ।’ सरकारको आलोचना र गुनासो पोखिने माध्यम पत्रकारिता भएकोले सरकारले अंकुश लगाउन खोजेको उनीहरूको तर्क छ ।
‘सबैभन्दा पहिला पत्रकारलाई ठीक पारेपछि विपक्षी आवाज आफैं हराउँछ भन्ने सरकारको उद्देश्य छ,’ सहभागीले भने ।
कार्यक्रममा कान्तिपुर दैनिकका उपसम्पादक प्रकाश बरालले अवधारणापत्र प्रस्तुत गरेका थिए । नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्तको अध्यक्षता, उपाध्यक्ष संगम घर्तीमगरको स्वागत र सचिव नारायण रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।