
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफु धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । गुप्तेश्वर विराट कोटीहोम महायज्ञको समापन समारोहलाई सदरमुकाम कुश्मामा सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन ।
उनले मुलुक धार्मिक निरपेक्ष र सापेक्ष भन्ने नैं नहुने दाबी गरे । ‘राष्ट्र धार्मिक निरपेक्ष हुनसक्दैंन र सापेक्ष पनि हुनुहुँदैंन’ उनले भने, ‘त्यसैले नेपाली कांग्रेस पहिलेदेखि नै धार्मिक स्वतन्त्रताको पक्षमा रहँदै आएको छ ।’
हिन्दु धर्मले पनि धर्म स्वतन्त्रताकै कुरा गरिरहेको सन्दर्भ कोट्याउँदै महामन्त्री कोइरालाले संविधानमा धर्म निरपेक्षतालाई सुधार गर्नुपर्नेमा जोड दिए ।
‘म नेपाली कांग्रेसको महामन्त्री हुँ, मैले धर्म स्वतन्त्र हुनुपर्छ भन्दै आएको छु, हाम्रो चारतारे झण्डामध्ये एउटा तारा धर्म स्वतन्त्रताको प्रतिक हो’ उनले भने–‘तसर्थ धर्म स्वतन्त्र हुनुपर्छ ।’ तपाईहरु हिन्दु धर्ममा विश्वास राख्नुहुन्छ । म पनि हिन्दु धर्ममा विश्वास राख्छु । उनले हिन्दु राष्ट्र निर्माणका लागि जनता अगाडी आएमा आफु साथमा रहेको पनि स्पस्ट पारे ।
‘तपाईहरुलाई लाग्छ, हिन्दु राष्ट्र हुनुपर्छ भनेर, तपाईहरु लाग्नु हामी तपाईको साथमा छौ । यो परिवर्तन गर्नलाई तपाईहरुले नै अभियान सञ्चालन गर्नुपर्छ । त्यो अभियानलाई म साथ दिन तयार छु ’ उनले भने ।