
नेपाल टेलिकमले गलकोट–७ मल्मडाँडामा निर्मित नयाँ मोबाइल टावरमा बिहीबारदेखि सेवा सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा २०७१ असोजमा टेलिकमले ८ मिटरको रुफ टावरमार्फत टुजी र २०७३ चैतदेखि थ्रिजी सेवा सञ्चालनमा ल्याएको थियो । टावरको उचाइ कम र वरिपरि अग्ला रूखका कारण मुनिका बस्ती र खोचमा भ्वाइस तथा डाटा सर्भिस पहुँचमा समस्या भएको थियो ।
गलकोट नगरपालिकाको ७ नम्बर वडा कार्यालयले यसको समाधान गर्न अनुरोध गरेपछि गत चैतमा टेलिकमले २५ मिटर अग्लो नयाँ टावर निर्माण गरेको थियो ।
नयाँ टावर सञ्चालनमा आएपछि टुजी र थ्रिजीको भ्वाइस तथा डाटा सर्भिसमा सुधार भएको टेलिकम बागलुङका कार्यालय प्रमुख तथा वरिष्ठ इन्जिनियर केशव शर्माले बताए । टावर सञ्चालनमा आएपछि गलकोटका मल्म, हटिया, काँडेबास र वडा नं ५ का केही भूभागसहित गुल्मीको मुसीकोट नगरपालिका–९ अर्लाङकोटसँगै मध्यपहाडी लोकमार्गसम्मका नमस्ते मोबाइल प्रयोगकर्ता लाभान्वित हुने उनले जानकारी दिए ।
टावर सञ्चालन गर्न नेपाल टेलिकम पोखराका इन्जिनियर शंकर थापाको प्राविधिक टोलीले कार्यसम्पादन गरेको थियो । पहिले समस्या भएका अधिकांश स्थानमा अब नेटवर्क सिग्नलसँगै भ्वाइस र उच्च गतिको मोबाइल इन्टरनेट डाटाले काम गर्ने टेलिकमले जनाएको छ ।