
गलकोट नगरपालिका ७ मल्म सिरबारेमा आज दिउँसो एक घरमा आगलागी भएको छ । स्थानीय जुक्तबहादुर खड्काको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
घरमा रहेका अन्नपातसँगै अन्य अत्यावश्यक सामग्री जल्दा झन्डै २० लाखबराबरको क्षति भएको वडाध्यक्ष सुबेदार टीकाबहादुर थापाले जानकारी दिए ।
दिउँसो सवा ४ बजेतिर आगलागी भएको पीडित खड्काले बताए । स्थानीयको सक्रियतामा झन्डै २ घण्टापछि आगो नियन्त्रणमा आएको वडा सदस्य लोकबहादुर थापाले जानकारी दिए ।
घटनाको केही समयपछि इलाका प्रहरी कार्यालय गलकोटको टोली घटनास्थलमा पुगी मुचुल्का उठाएको छ । आडैमा रहेको खड्काका भाइ टेकबहादुरको घरको एकापट्टिको भाग जलेर क्षति पुगेको छ ।
घर पूर्ण रूपमा क्षति भएपछि खड्का परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । खड्काको परिवारमा श्रीमती, २ छोरा, बुहारी र नातिनातिना गरी ६ जना छन् ।