३१ बैशाख २०८२, बुधबार

 

असार १ बाट पठनपाठन थाल्न शिक्षा मन्त्रालयको आह्वान

शिक्षा मन्त्रालयले आगामी असार १ बाट पठनपाठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समय पढाइ अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षति न्यूनीकरण गर्न अपरिहार्य रहेको बताएका छन् ।

विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठनपाठनको सहज अवस्था सिर्जना गर्न, दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गर्नेसम्बन्धी निर्देशिका २०७७ जारी गरेको उनको भनाइ छ ।

‘सो निर्देशिकालाई यही २०७७ असार १ गतेबाट कार्यान्वयन गर्न÷गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आह्वान गर्दछु,’ विज्ञप्तिमा छ ।यसैबीच बजेट वक्तव्यको बुँदा नम्बर १६६ बारे मन्त्री पोखरेलले आफ्नो मन्त्रालयले प्रस्ताव नगरिएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘बजेट वक्तव्यको बुँदा नम्बर १६६ मा उल्लेखित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रस्ताव नगरिएको भए तापनि सार्वजनिक विद्यालयको सबलीकरण र सुदृढीकरणका निम्ति गैरसरकारी क्षेत्र, विकास साझेदारहरुको सहयोग र योगदानलाई पूरक कार्यक्रमका रूपमा विद्यालयको व्यवस्थापन र स्वामित्व यथावत् गर्ने गरी परिचालन गरिनेछ ।’

मन्त्री पोखरेलले सार्वजनिक शिक्षाको सबलीकरण सबैको साझा दायित्व भएको पनि बताएका छन् । तर उनले निजी विद्यालयले जेठ २१ देखि भर्ना सञ्चालन गर्ने गरी गरेको घोषणामा मौन समर्थन जनाएका छन् । जबकि विद्यार्थी संगठनले त्यसको विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung