
चैत ११ गतेबाट गरिएको लकडाउनका कारण बन्द सरकारी कार्यालयहरु आजबाट सञ्चालनमा आएका छन् । सरकारले गत जेठ २८ गते कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
बिहान ८ देखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय खुल्ने भएका छन् ।सिंहदरबार पनि दुई सिफ्टमा सञ्चालन हुने भएका छन् ।
लकडाउनलाई केही खुकुलो बनाएको सरकारले कोभिड–१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा आजबाट सावधानी अपनाएर सञ्चालन गर्ने निर्णय गरेको हो । यसरी सञ्चालन हुनेमा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयसमेत छन् ।
यस्तै सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनसमेत आजबाट सञ्चालन हुन पाउनेछन् ।
उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्नेछ । यात्रुले अनिवार्य रूपमा मास्क र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने तथा सवारीलाई दैनिक निसङ्क्रमित गर्नुपर्नेछ ।
उक्त सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदुर तथा कर्मचारी मात्रै राख्नुपर्नेछ ।उपत्यका प्रवेशमा थप कडाइ गरिएको छ । सार्वजनिक यातायातका साधन पनि चलेका छैनन् ।
मानिसको बढी भीडभाड हुने र सहभागिता बढी हुने पठनपाठन, अनुमति प्राप्तबाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएकाबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन,
सबै प्रकारका तालिम, सेमिनार, सभा, गोष्ठी र भेला, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, सैलुन, तथा ब्युटीपार्लर, स्विमिङपुल, सपिङ मल, खुलेका छैनन् । लकडाउन खुलेको २१ दिनसम्म यसरी नै कार्यालय सञ्चालन हुनेछ ।
२१ दिन दुई सिफ्टमा सञ्चालन गरेको अनुभव र नतिजाका आधारमा सरकारले त्यसपछिको अवस्थाका लागि निर्णय गर्ने जनाएको छ ।