
प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल बुधबार दार्चुला पुगेका छन् । कालापानीनजिकै सेनाले खडा गरेको अस्थायी क्याम्प र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ( बीओपी) को निरीक्षण गर्न उनीहरू त्यहाँ पुगेका हुन् ।
कालापानी–लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरी उद्घाटन गरेपछि वैशाख ३१ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले बीओपी उद्घाटन गरेका थिए ।
यति बेला सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा सीमा निगरानी चौकी बीओपी सञ्चालनमा ल्याइएपछि सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म पुगेर नियमित गस्ती गर्न थालेका हुन् ।
उक्त बीओपीमा सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको कमान्डमा २५ प्रहरी खटाइएको छ । नेपाली सेनाको हेलिकप्टरले सशस्त्र प्रहरी, नेपाल प्रहरी र बीओपीका लागि चाहिने सामान छाङरु पु¥याएको थियो ।