१ जेष्ठ २०८२, बिहीबार

 

नेकपाको बहुप्रतिक्षित स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहु-प्रतिक्षित स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । संसदबाट अनुमोदनको तयारीमा रहेको मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसि) पारित गर्ने वा नगर्ने भन्ने बारेमा छलफल केन्द्रित रहने बुझिएको छ ।

स्थायी कमिटीको बैठकका बारेमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टिका नेता सामु आआफ्ना मत राख्नेछन् ।

दुबै नेताका पक्ष र विपक्षमा विभाजित नेताहरुले छलफलका क्रममा उठेका बिषयमा समिक्षा गर्ने बुझएको छ ।एमसिसिका अतिरिक्त उक्त बैठकमा कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा सरकारले गरेका काम कारवाही र कमी कमजोरीका बारेमा समेत समिक्षा हुनेछ ।

पार्टी संगठनका विषय , एमसीसी र अन्य समसामयिक विषयमा बैठकमा छलफल गरिने एक सदस्यले जानकारी गराए । ती सदस्यले सरकार र पार्टी कामको गहन समीक्षा हुने जानकारी गराए ।

असन्तुष्ट पक्षका नेता भीम रावल र प्रचण्ड बीच आजको बैठकमा कसरी प्रस्तुत हुने भनेर पूर्व तयारी गरेर बैठकमा सहभागी भएको स्रोतले जानकारी गराएको छ । नेता रावल पार्टीले गठन गरेको एमसिसि अध्ययन समितीका सदस्य पनि हुन् ।

यसअघि नै उनी सम्मिलित समितीले एमसिसि जस्ताको तस्तै पारित गर्न नहुने तर्क सहित प्रधानमन्त्रीलाई बुझाई सकेको छ । नेता रावलले पार्टीको निर्णय बिना अहिले कै अवस्थामा एमसिसि पारित गर्न नहुने मत राख्दै प्रधानमन्त्रीको खरो आलोचना गर्दै आएका छन् ।

अध्यादेश प्रकरणपछि २० जना स्थायी कमिटी सदस्यले हस्ताक्षर गरेर बुझाएका मागका सन्दर्भमा पनि स्थायी कमिटीमा छलफल हुने उनको भनाई छ ।

सरकारले आकस्मिक रुपमा ८ वैशाखमा ल्याएर राष्टपतिबाट अनुमोदन गरे लगत्तै १२ वैशाखमा फिर्ता भएको थियो । नेकपामा त्यसपछि नेताहरु दुई धु्रवमा विभाजित भएर सरकारको आलोचना र अर्काै पक्षमा वचाव गर्दै आएका छन् ।

आलोचना गर्ने पक्षले प्रधानमन्त्री केपी ओलीले उक्त कार्यको प्रायश्चितका लागि आत्मआलोचित हुनुपर्ने तर्क गर्दै आएका छन् । अर्काै स्थायी कमिटी सदस्यले कोरोना नियन्त्रणमा सरकारको कामको समिक्ष र संसदबाट हालै पारित नेपालको निशान छापमा परिवर्तन र नक्शामा गरिएको सुधारका विषयको पनि समीक्षा गर्ने बताए ।

साथै लकडाउन अवधीमा सरकारका मन्त्रीको संलग्नतामा गरिएको चिकित्सा सामग्री खरिद र अनियमितताका बारेमा मिडियामा आएका समाचारका बारेमा पनि छलफल हुने छ ।

सरकारले लिम्पियाधुरा–कालापानी क्षेत्र समेटेर नक्सा जारी गर्ने र संविधानमा अंकित गर्ने कार्य पनि यसबीचमा गरेकाले त्यसबारे धन्यवाद प्रस्ताव रहेको नेकपाका ती नेताले बताए । सरकारले गरेका राम्रा कामको धन्यवाद र गल्ती कमजोरी औल्याउने गरी बैठक बस्न लागेको नेकपाका नेताले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung