
सडक विस्तारका क्रममा जथाभाबी खनिएको ठाउँमा पहिरो जाँदा बागलुङ नगरपालिका–५ मालिकाका तीन घर भत्किएका छन् । अन्य दर्जनौं घरगोठ जोखिममा परेका छन् ।
स्थानीय हेमराज रेग्मी, भरत रेग्मी र टकमाया किसानको घर पहिरोले भत्काएको हो । सोही ठाउँका हर्कबहादुर क्षेत्री, भीम प्रसाद शर्मा र देवीप्रसाद शर्माको गोठ भत्किएको वडाध्यक्ष शिव सापकोटाले जानकारी दिए ।
पहिरोको जोखिम बढेपछि ज्यान जोगाउन घर छाडेर सुरक्षित ठाउमा बसिरहेको स्थानीयले बताए । तत्काल सहयोग र राहत उपलब्ध गराइदिन स्थानीय हेमराज उपाध्यायले आग्रह गरे । ‘बस्ती नै पहिरोले बगाउने अवस्थामा पुग्यो, अब कहाँ गएर बस्ने, के खाने र परिवारलाईं कहाँ लगेर राख्ने ?,’ अर्का स्थानीय भरत रेग्मीले भने ।
दीर्घकालीन योजना नबनाई विकास नाममा विनामापदण्ड खनिएका सडकका कारण पहिरो जाने गरेको छ ।हतार–हतारमा गरिने असारे विकासले बाढीपहिरो र भूक्षय हुने क्रम बढेकाले अबका दिनमा सरकारले असारे विकासको परिपाटी परिमार्जन गर्न आवश्यक रहेको पूर्वराज्यमन्त्री रामजीप्रसाद शर्माले नयाँ विश्वलाई बताए ।
जथाभावी खनिएको सडकको कारण बागलुङ नगरपालिका–५ मा पहिरो जाँदा करोडौंको भौतिक संरचनामा क्षति पुगेको वडाध्यक्ष शिवप्रसाद सापकोटाको भनाइ छ । वर्षा हुँदा स्थानीय पहिरोको डरले रातभर जाग्राम बस्ने गरेका छन् । चारैतिर पहिरो र पानी मात्र बग्ने गरेकाले निद्रा पर्न छोडेको उनीहरूको गुनासो छ ।
तस्वीर : राम प्रसाद घिमिरे