दोस्रो विश्वयुद्धमा छुटेको नासो ७७ वर्षपछि फिर्ता
दोस्रो विश्वयुद्धका बेला जापानले युद्धबन्दी बनाएका र बर्मास्थित एउटा शिविरमा मृत्यु भएका एक सैनिकको नासो उनको परिवारले ७७ वर्षपछि फिर्ता पाएको छ। सन् १९४३ मा २३ वर्षीय पिटर ¥यामको मृत्यु भएपछि उनका साथी एरिक एडीले कुकुरको घाँटीमा बाँधिने ट्यागहरू फेला पारेका थिए। गत महिना ९६ वर्षको उमेरमा एडीको मृत्यु भएपछि उनका छोरा रोबर्टले लेफ्टिनेन्ट ¥यामका आफन्त पत्ता लगाएर ती नासो फिर्ता गरेका हुन्। सन् १९४२ ¥याम र एडी दुवै जना रोयल नोर्फक रेजिमेन्टमा हुँदा सिंगापुर खटिएका थिए। त्यही बेला जापानी सेनाले आक्रमण गरेर उनीहरूलाई बन्दी बनाएको थियो।
रोबर्ट एडीका अनुसार उनीहरूलाई एउटा शिविरबाट अर्को शिविरमा सारिएको थियो। जापानले आफ्नो फौजलाई सामान आपूर्ति गर्न निर्माण गरेको बर्मा रेल्वेमा उनीहरूलाई काम गर्न पठाएको थियो। उक्त रेलमार्गको निर्माण गर्दा हजारौँ बन्दीहरूको मृत्यु भयो। ‘मेरा बुबा युद्धका बेलाको कुरा खासै गर्नुहुन्नथ्यो। युद्धबन्दी हुँदाको कुरा त झन् गर्नै हुन्नथ्यो,’ एडीले भने। ‘तर उहाँले एउटा शिविरमा ज्यान गुमाएका आफ्ना साथीबारे भन्नुभएको थियो।’ एरिक एडीलाई बर्माको रेल्वेमा काम गर्न खटाइएको थियो जहाँ एक लाख युद्धबन्दीको मृत्यु भएको थियो । ‘कुनै कारणले बुबाले पिटरको नासो फिर्ता गर्नुभएन। अनि ७७ वर्षसम्म त्यो उहाँसँगै रह्यो,’ उनले भने, ‘मैले सामान खोज्दा ती ट्याग हाम्रो परिवारका हैनन् भन्ने पत्तो पाएँ । अनि म पिटरको परिवार खोज्न थालेँ ।’
¥यामका भान्जा रोबिन ग्रिनलाई आफ्ना मामाको बर्मास्थित शिविरमा मृत्यु भएको थाहा थियो। उनीसँग ¥यामका दुईवटा डायरी पनि थिए। तर एडीको फोन आउँदा र मामाको नासो फिर्ता पाउँदा उनी छक्क परे। ‘रोबर्टले मलाई यति लामो समयपछि पत्ता लगाउँदा मैले पत्याउनै सकिनँ,’ उनले भने। आफूसँग आफ्ना मामा र उनका साथी पिटरले सँगैसँगै तालिम लिएको तस्बिर पनि भएको उनले बताए। जापानले आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध समाप्त भएको थियो। शनिबार ७५औँ भीजे डे मनाइँदै छ। त्यसको पूर्वसन्ध्यामा रोयल ब्रिटिस लिजनले सार्वजनिक गरेका कथाहरूमध्ये ¥यामको नासोको कथा पनि संलग्न छ ।