रजत जयन्तीमा वार्षिक कार्यक्रमको तयारी गर्दै लायन्स क्लब
लायन्स क्लब अफ धौलागिरिले रजत जयन्तीका अवसरमा वर्षैभरि विभिन्न कार्यक्रम गर्ने भएको छ । स्थापनाको २५ वर्ष पूरा भएको उपलक्ष्यमा विविध कार्यक्रम गरी रजत जयन्ती मनाइन लागेको क्लबका अध्यक्ष जयराम भारीले बताए ।
सन् १९९६ मा केबी राना मगरको नेतृत्वमा स्थापित लायन्स धौलागिरि अञ्चलकै जेठो क्लब हो । क्लबको लक्ष्य हासिल गर्न वार्षिक कार्यक्रम बनाउन लागेको क्लबका सचिव राजेश भारीले जानकारी दिए । यसअन्तर्गत पाठेघर परीक्षण शिविर, क्लबको भवन बनाउन जग्गा व्यवस्थापन, लायन्स भ्रमण, राहत कोष स्थापना र दुव्र्यसनी रोकथाम र नियन्त्रणको लागि जनचेतना कार्यक्रमलगायत छन् ।
लायन्स क्लबको उद्देश्यअनुसार क्लबका सदस्यहरूलाई शिक्षित गर्नुको साथै सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सेवा, शिक्षा, स्वास्थ्यको क्षेत्रमा परिणाममुखी कार्य दिगो कार्यक्रमका लागि क्लबको नेतृत्वले प्रेरित गरेको पूर्वअध्यक्ष काजीमान गुरुङले नयाँ विश्वलाई बताए ।
वार्षिक कार्यक्रम सम्पन्न गर्न चाहिने रकमको अनुमानित हिसाब र संकलनको उपायबारे छलफल भइरहेको क्लबका कोषाध्यक्ष शिव शाहले बताए । रजत जयन्तीसहितको वार्षिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आर्थिक संकलनको काम पनि अगाडि बढेको उनले जानकारी दिए ।