
काठमाडौं विश्वविद्यालयले कोरोना महामारीका बेला विद्यार्थीलाई शुल्क तिर्न दबाब दिएको छ। अनलाइन कक्षा सञ्चालन गरिरहेको विश्वविद्यालयले स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङ स्नातक तह दोस्रो सेमेस्टरका विद्यार्थीलाई भदौ १५ गतेसम्म शुल्क तिर्न भनेको हो ।
स्कुल अफ साइन्सका डिन प्राध्यापक डाक्टर कह्नैया झा र स्कुल अफ इन्जिनियरिङका डिन डा। डम्बरबहादुर नेपालीले सूचना निकालेर कोर्स रजिस्ट्रेसन फारम भर्न ताकेता गरेका हुन् ।
‘भदौ १५ भित्रमा कोर्स रजिस्ट्रेसन फारम भर्न सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ। साथै आफूले तिर्न बाँकी रहेको शुल्क तिरी सोको बैंक भौचर र रजिष्ट्रेशन फारमसमेत इमेलमार्फत् सम्बन्धित डिन कार्यालयमा पठाउन सूचित गरिन्छ,’ डिनद्वयले निकालेको सूचनामा भनिएको छ ।
लकडाउन र अधिकांश जिल्लामा निषेधाज्ञा भएका बेला विश्वविद्यालयले शुल्क तिर्न दबाब दिएको विद्यार्थीले गुनासो गरेका छन् । स्कुल अफ साइन्स र इन्जिनियरिङका कक्षा तीन महिनायता अनलाइनबाट पढाइँदै आएको छ ।
इन्जिनियरिङ र साइन्स कार्यक्रमका विद्यार्थीलाई सेमेस्टरपिच्छे फरक–फरक शुल्क छ। चौथो ब्याचको पहिलो सेमेस्टरका विद्यार्थीलाई पहिलो किस्ताबापत २२ हजार ट्युसन शुल्क, १८ हजार ६ सय शुल्क, मेडिकल इन्सुरेन्स एक हजार गरी ४१ हजार ६ सय रुपैयाँ तिर्न विश्वविद्यालयले दबाब दिएको एक विद्यार्थीले बताए ।