
कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण मजदुरीमा जान नपाएर छाक टार्न मुस्किल भएकालाई सहयोग गर्न बागलुङमा ‘फुड बैंक’ सञ्चालन गरिएको छ । लियो क्लब अफ बागलुङ कालिकाको सक्रियतामा ‘सक्नेले दिएर जाऊँ, नसक्नेले लिएर जाऊँ’ अभियानअन्तर्गत ‘फुड बैंक’ चलाइएको हो ।
अभियानलाई बागलुङ उद्योग वाणिज्य संघका सदस्य तथा नेपाल भाषा मंका खल बागलुङका कोषाध्यक्ष विदेशकुमार श्रेष्ठले पनि साथ दिएका छन् । उनले ५ हजार रुपैयाँबराबरको खाद्यान्न सहयोग गरेको कार्याक्रमका संयोजक तथा लियो क्लब अफ बागलुङ उपाध्यक्ष रामप्रसाद घिमिरेले नयाँ विश्वलाई बताए ।
कोरोना र निषेधाज्ञाको कारण समस्यामा परेका मजदुर र विपन्न परिवारहरुलाई सहयोग पुगोस भनि मैले खाद्यान्न सहयोग गरेको बागलुङ उद्योग वाणिज्य संघका सदस्य तथा नेपाल भाषा मंका खल बागलुङका कोषाध्यक्ष विदेशकुमार श्रेष्ठले नयाँ विश्वलाई बताए ।
अभियानमा पहिलो दिन बागलुङ बजारको जिपपार्कमा रहेको कँडेल सप्लायर्सले पनि आवश्यक खाद्यान्न सहयोग गरेको थियो । क्लबले बजारका विभिन्न चोकबाट बिहान र साँझको समयमा अभियान चलाइरहेको क्लबका सचिव लियो जनक सापकोटाले बताए ।
यस अभियानमा लायन्स क्लबहरू पनि जोडिन थालेका छन् । क्लबको यो अभियानलाई सबैले सकेको सहयोग गरे मात्र यसलाई निरन्तर अघि बढाउन सकिने क्लबका अध्यक्ष लियो सन्देश बोगटीले बताए । ‘हामीले आजबाट यो अभियान सुरु गरेका छौं, यसमा सबै क्षेत्रको सक्दो सहयोग भए निरन्तर सञ्चालन गर्नेछौं,’ उनले भने, ‘यो हातेमालो अभियानमा जो–कोही पनि सहभागी हुन सक्नुहुनेछ ।’
अभियान आइतबार बागलुङ बजारको जिपपार्क, सोमबार र मंगलबार लोकतान्त्रिक चोकमा सञ्चालन गरिएको थियो । चौथो दिनसम्म २ सय ९७ जनाले राहत सामग्री लगेको संयोजक घिमिरेले बताए । बागलुङ नगरपालिकामा भदौ ३ देखि निषेधाज्ञा जारी भएसँगै मजदुर तथा विपन्नलाई छाक टार्न समस्या परेको छ ।