
जगविरे गुरुधामी श्रीमतीसँग छुटेको चार महिना भयो । यति बेला उनलाई हातमुख जोर्नै मुस्किल छ । एक–दुई दिनमा एक छाक खानु बाध्यता बनेको छ ।
उनले यस्तो जीवनको कल्पनासम्म गरेका थिएनन् । काठमाडौंमा व्यापार गरेर साहू बन्ने सोचेका थिए । केही समय राम्रै चल्यो व्यापार । कीर्तिपुर, एयरपोर्ट, बालकुमारीमा खाजा पसल चलाए ।
पसलमा साँझ–बिहान श्रीमतीलाई सघाउँथे । दिउँसो आफू पनि सानोतिनो काम गर्थे । खाजा पसल चलाउन सहकारी र साहुुसँग ऋण लिएका थिए । त्यो ऋण त तिर्न सकेनन् नै, उनको सपना पनि चकनाचुर भएको छ ।
कैलालीका जगविरे ६ वर्षयता काठमाडौैंमा छन् । मानसिक र शारीरिक समस्याले ग्रस्त जेठी श्रीमतीको निधनपछि उनी यता आएका हुन् ।
‘श्रीमतीलाई भारतको कलकत्तासम्म लगेर उपचार गरेँ तर निको भएन,’ उनले सुनाए ।
त्यसपछि बुबाआमा र छोराछोरीलाई गाउँमै छाडेर काठमाडौं आएका थिए उनी । ‘श्रीमतीको उपचारमा अलिअलि ऋण लागेको थियो,’ उनले भने, ‘काठमाडौंमा व्यवसाय गर्छु भनेर लागेको, अहिले झनै बेहाल भयो ।’
यतै बसाइका क्रममा केही वर्षपछि उनले धादिङकी एक महिलासँग विवाह गरे । श्रीमती आएपछि व्यवसाय अझ बढाउने सोचमा थिए । त्यसैबाट जेठीतिरका दुई छोरा–छोरी पनि पढाउनु थियो ।
तर कान्छी श्रीमतीले आफूलाई ‘घर न घाटको बनाएको’ उनी बताउँछन् । उनका अनुसार पसल गर्छु भनेर लिएको ऋण २५ लाख नाघेको छ । अहिले न पसल छ न साथमा श्रीमती छिन् ।
‘पहिलेका दिनमा राम्रो कमाइ हुन्थ्यो, श्रीमती आएपछि सबै जिम्मा उसैलाई छाडेँ, म सानोतिनो काम गर्न जान्थँे । घर फर्किंदा न सामान हुन्थ्यो न पैसा,’ उनले भने ।
जगविरेका अनुसार चार महिनादेखि श्रीमती फर्किएर आएकी छैनन् । साहुको फोन भने आएको आयै छ ।
०००
केही दिनअघि भृकुटीमण्डपको उत्तरपट्टि मिर्गौला चाहिएमा सम्पर्क गर्न भनी मोबाइल नम्बरसहितको एउटा सूचना टाँसियो । त्यसमा लेखिएको नम्बर उनै जगविरेको थियो ।
कैलालीको गोदावरी नगरपालिका–९ का उनी ऋण तिर्नकै लागि मिर्गौला बेच्ने निर्णयमा पुगेको बताउँछन् ।
‘लागेको ऋण तिर्न सक्ने उपाय छैन,’ उनले भने, ‘एउटा हात पनि भाँच्चिएर राम्रोसँग काम गर्न हुँदैन । मसँग पैसा आउने यही मिर्गौला न हो, यसैलाई बेचेर कति हुन्छ ऋण तिर्छु ।’
यसरी मिर्गौला बेच्नु अवैध हो भन्ने उनलाई थाहा छैन । कसैले यस्तो भनिदिँदा ‘मर्नुभन्दा बौलाउन ठिक हुन्छ’ भन्दै जवाफ दिन्छन् ।
‘फोन गर्ने मान्छेलाई मैले दिन मिल्ने गरी कागजपत्र बनाएर आउनुस् भन्ने गरेको छु,’ उनले भने ।
सूचना देखेपछि उनलाई भेट्न थुप्रै मान्छे पुग्न थालेका छन् । तर, कोरोनाका बेला मान्छे ल्याएको भनेर घरबेटीले कराउँछन् । त्यसमाथि भाडा नदिएको पनि महिनादिन कटिसक्यो ।
‘सानोतिनो जागिर थियो, त्यही पनि कोरोनाका कारण साहुले निकालिदियो,’ उनले भने, ‘अहिले मागेर खाइरहेको छु । काम गरौं, काम दिँदैनन्, खाना पकाऊँ कोठामा अन्न छैन । कहिले टुँडिखेल, कहिले साथीहरूसँग मागेर खाइरहेको छु ।’
कलंकीको एउटा कुनामा रहेको कोठामा अहिले बिस्तरा मात्र छ, पकाएर खाने कुनै उपाय छैन । ‘कैलालीको घर पनि ऐलानीमा छ । त्यो छाप्रो बेचौं भने १० हजार पनि पर्दैन, ऋण धेरै छ,’ उनले भने ।