३ जेष्ठ २०८२, शनिबार

 

बागलुङ बजारमा मास्क नलगाई हिँड्नेको संख्या बढ्यो

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला बागलुङ बजारमा मास्क नलगाउनेको संख्या बढेको छ ।बजारमा सामान किनमेल गर्न आउने र अन्य कामले बजारमा निस्कने व्यक्तिले मास्कको प्रयोग कम गर्न थालेका हुन् । यसले थप संक्रमणको जोखिम बढाएको छ ।

बागलुङको लालिगुराँस चोकमा किराना पसल गर्दै आएका बद्री सापकोटाका अनुसार बजारमा निस्कने अधिकांस व्यक्तिहरु मास्क बिना हिँड्ने गर्छन् ।

कोरोना संक्रमण बढ्दै गएपछि बागलुङ नगरपालिकाले संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न अति आवश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । तर बजारमा हिँड्ने व्यक्तिले न्यूनतम सुरक्षाका मापदण्ड पालना नगरी हिँडडुल गर्नाले जोखिम बढेको छ ।

संक्रमण फैलिने क्रम बढीरहेकाले बजारमा निस्कदा मास्क र सेनिटाइज र सामाजिक दुरी कायम गरी हिँड्नुपर्ने वडाध्यक्ष जीवन आचार्यकाे सुझाव छ ।

‘कोरोना संक्रमण फैलिरहेका बेला वित्तिय कारोबारका लागि बैंकमा आउने ग्राहक मास्क नलगाइ आउनुहुन्थ्यो, बैंकर्स बागलुङका अध्यक्ष दीपक शर्माले भने, ‘मास्क नलगाए सेवा दिँदैनौं भनेका छौं । पहिलेको तुलनामा अहिले मास्क लगाएर आउने संख्या बढेको छ ।’

चाडपर्वको बेला बजारमा कोरोना भाइरसको लक्षण भएका बिरामी बढ्न थालेको र मास्क नलगाइकन सामान किनमेल गर्न आउनेको संख्या पनि वृद्धि भएकाले व्यवसायीले अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा अपनाएर व्यापार बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीको आग्रह छ ।

हामीले वाणिज्य संघको तर्फबाट जनचेतनाको लागि बजारमा माइकिङ गर्ने काम गरिरहेका छौं, अध्यक्ष राजभण्डारीले भने, ‘ संघले जनचेतना फैलाउने तर बजारबासीबाट पालना नहुँने गरेको देखिएको छ ।’

चाड पर्व नजिकिँदै गर्दा र बजार र गाउँमा फेरि कोरोनाका बिरामी बढ्न थालेको बताउँदै बागलुङ भित्रिने मुख्य नाकाहरुमा अनुगमन कडाइ गर्न थालेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

‘बजारमा मास्क नलगाइ हिँडेको सूचना पाएका छौँ, न्यौपानेले भने, ‘बजार र अन्य क्षेत्रमा सुरक्षाका मापदण्ड पालना नगरेको पाए कानुनी कारवाही गछौं ।’

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung