२ जेष्ठ २०८२, शुक्रबार

 

बागलुङमा यस वर्ष पनि मनाइँदै जेसिज सप्ताह

बागलुङमा यस वर्ष पनि जेसिज सप्ताहले निरन्तरता पाएको छ । कोरोना संकटका कारण नियमित हुँदै आएका र हुनुपर्ने कार्यक्रम, सभा, समारोह ठप्प भए पनि जेसिजले सप्ताहलाई निरन्तरता दिएको हो ।

जेसिजले हरेक वर्ष सामाजिक सन्देश प्रवाह गर्ने, युवाको नेतृत्व र व्यक्तित्व विकासमा टेवा पुग्ने विभिन्न रचनात्मक कार्यक्रमसहित सप्ताह मनाउने गरेको छ ।

यसअनुसार कोरोना सकसका बीच सामाजिक दूरी र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै शुक्रबारदेखि विभिन्न कार्यक्रम गरिरहेको बागलुङ जेसिजका अध्यक्ष सुरेन्द्र शाक्यले जानकारी दिनुभयो ।

सप्ताहको पहिलो दिन धौलागिरि अस्पतालमा रक्तदान कार्यक्रम गरिएको थियो । कार्यक्रममा जेसिजमा आबद्ध २१ जनाले रक्तदान गरेका छन् ।जेसिज सप्ताहको उद्घाटन गर्दै धौलागिरि अस्पताल विकास समितिका अध्यक्ष केबी राना मगरले समाज र देश बदल्न युवाको सकरात्मक सोच र सक्रियता आवश्यक भएको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति जब्बरबहादुर लामिछाने, म्याग्दी जेसिजका अध्यक्ष सुजन बरुवाल, बागलुङ जेसिजका अध्यक्ष सुरेन्द्र शाक्यले मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रम जेसिज सप्ताह मूल समारोह समितिका संयोजक सौरभ श्रेष्ठको अध्यक्षता, निवर्तमान अध्यक्ष एञ्जिल शाक्यको आस्था–पाठ र महासचिव आनन्द रेग्मीको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung