
एनएमबी बैंकले बकस रिन्युएबल इनर्जी प्रालिसँग बायोमास पेलेट उत्पादन गर्ने समझदारी गरेको छ । बैंकले १६ करोड रुपैयाँबराबरको कर्जा सम्झौतामा हस्ताक्षर गरेको हो ।
बकस रिन्युएबल इनर्जी प्रालिलाई इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) द्वारा प्रवर्धित नेपालको पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी फन्ड बिजनेस अक्सिन प्राइभेट प्रालि (बीओ२) ले परियोजना विकास गर्न लगानी गरेको छ । इक्विटीका रूपमा ५ करोड रुपैयाँ र बकस रिन्युएबल इनर्जी कम्पनीका प्रमोटरहरूको अर्को ५ करोड बराबरको लगानी छ ।
एनएमबी बैंकले प्रदान गर्ने १६ करोडबराबरको कर्जा रकमलाई कम्पनीले बायोमास पेलेट मेसिन खरिद गर्न र चालू पुँजीमा उपयोग गर्नेछ । परियोजनाले वनक्षेत्रमा त्यसै खेर गइरहेको र प्रत्येक वर्ष वन डढेलोले खाने वनमारा तथा झाडीको बायोमासलाई पेलेटको रूपमा परिवर्तन गरेर औद्योगिक एवम् घरायसी ऊर्जाको लागि वैकल्पिक इन्धनको उत्पादन गर्ने जनाइएको छ । बायोमास पेलेट नवीकरणीय ऊर्जा हो । यसले परम्परागत ऊर्जा, जस्तै– पेट्रोलियम पदार्थ, एलपीजी र कोइलाको विकल्प प्रदान गर्नेछ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–५ मा स्थापना हुने आयोजनाले प्रति वर्ष १९ हजार ८२४ मेट्रिकटन बराबरको पेलेट उत्पादन गर्ने लक्ष्य राखेको जनाइएको छ । बैंकका अनुसार पेलेट उत्पादनका लागि चाहिने कच्चा पदार्थ सागरनाथ वन विकास परियोजनावाट प्राप्त गरिनेछ । वन पैदावर विकास समितिले पेलेट उत्पादनका लागि सागरनाथ वन विकास परियोजनमा रहेका वनमारा तथा झाडीजस्ता बायोमास बकस रिन्युएबललाई नियमानुसार २० वर्षका लागि उपलव्ध गराउने सम्झौता गरिसकेको छ ।
यस कार्यक्रमबारे जानकारी दिन आयोजित भर्चुअल प्रेस बैठकमा बिजनेस अक्सिनका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले यो लगानीले वातावरणीय अनुकूलनमा सहयोग पुग्ने र स्वच्छ ऊर्जाको क्षेत्रमा मार्गप्रशस्त भई मुलुकभित्रै कोइलाको विकल्प तयार हुने बताए । बकस रिन्युएबलका अध्यक्ष सन्तोषमणि नेपालले परियोजनाले डढेलोले निम्त्याउने समस्या घटाउने, कोइला र जीवावशेष इन्धनको औद्योगिक प्रयोग घटाउनका साथै वन क्षेत्रवरपरका विपन्न र जोखिममा रहेका परिवार लाई रोजगारी प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
बकस रिन्युएबलका कार्यकारी निर्देशक कुवेरमणि नेपालले इन्धनमा परनिर्भरता भएको हाम्रो देशले विगतका नाकाबन्दीबाट पाठ सिक्दै आफ्नै वनमा खेर गइरहेको बायोमासमार्फत वैकल्पिक ऊर्जा उत्पादन गर्नु आजको आवश्यकता भएको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले कोइला तथा जीवावशेष इन्धनको उपयोग कटौती गरी कार्बन उत्सर्जन घटाउने र नवीकरणीय ऊर्जाका संसाधनको प्रवर्धन गर्ने लक्ष्य रहेको परियोजनासँगको सहकार्यले राम्रो नतिजा दिने बताए ।