
तीनदिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई कालो झन्डा देखाउन खोज्ने नेत्रविक्रम चन्द समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङका खेम प्रधान र बर्दियाका टीकाराम चौधरी छन् ।
उनीहरूलाई काठमाडौंको बागबजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतीय सेनाध्यक्षको भ्रमणका क्रममा हुन सक्ने अप्रिय घटनालाई लक्षित गर्दै प्रहरीले गरेको ‘सर्च अप्रेसन’मा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
उनीहरूले भारतीय सेनाध्यक्ष नरवणेको विरोधमा कालो झन्डा देखाउने तयारी गरेको प्रहरीको दाबी छ । उनीहरूका साथबाट चन्द समूहका दस्ताबेजसमेत फेला परेको जनाइएको छ ।
सशस्त्र प्रहरीले पक्राउ गरी उनीहरुलाई नेपाल प्रहरीको जिम्मा लगाएको हो । यसअघि बुधबार पनि चन्द समूहका कार्यकर्ता बाबुराम तामाङ र भावना विद्रोहीलाई प्रहरीले पक्राउ गरेको थियो ।