
नेपाल भाषामा प्रयोग हुने ‘स्व’ को नेपाली अर्थ ‘तीन’ हुन्छ । यो पर्व काग तिहार (क्वः पूजा) देखि भाइ टीका (किजा पूजा) सम्म पाँच दिन मनाइने भएतापनि नेवारहरुले लक्ष्मीपूजा, म्हपूजा र किजापूजा विशेष रुपमा मनाउने भएकाले यसलाई नेवारीमा स्वन्ति नखः भन्ने गरिएको भनाइ छ । यसमध्ये पनि नेवारहरु म्हपूजालाई प्रमुख पर्वका रुपमा लिन्छन् ।
यो नेवारहरुको सबभन्दा ठूलो र मौलिक पर्व हो । यसै दिन नेपालदेशीय मौलिक सम्वत् नेपाल सम्वत् फेरिन्छ । अन्य पर्वहरुमा विभिन्न देवदेवीहरुको पूजा आराधना गरिन्छ भने यो दिनमा आफ्नै भौतिक शरीर तथा आत्मालाई देवता सम्झी पूजा गरिन्छ । यो दिनमा घर परिवारका सबै सदस्यहरुका लागि मण्डप बनाई पूजा गर्नुका साथै घरको कुचो, सिलौटो, गाग्री, समेतको पूजा हुन्छ ।
केही वर्ष यता हाम्रो परापूर्वकालदेखि चलिआएको तिहार पर्वको प्रचलनलाई प्रभावित गर्ने कुत्सित प्रयास भएको त होइन भन्ने आशङ्का उब्जिएको छ ।
सामान्यतया पहिलो दिन कागको पूजा, दोस्रो दिन कुकुर पूजा, तेस्रो दिन बिहान गाईपूजा गरी गाईको गउँतले आपूmलाई अभिषेक गरी घरको मूल ढोका, कोठाचोठा, पूजाकोठीहरुमा समेत छर्केर चोख्याएपछि राति लक्ष्मीको आव्हान गरी लक्ष्मी पूजा गर्ने र चौथो दिन बिहान गोवद्र्धन पूजा तथा बेलुकी नेवार समुदायले म्हपूजा गर्ने र अन्तमा पाँचौँ दिनमा भाइटीका अर्थात् नेवार समुदायको किजापूजा गर्ने परम्परागत प्रचलन हो ।
यस प्रकार यमपञ्चकले पाँच दिनको कार्यक्रमलाई समेट्दछ । तर हालका वर्षहरुमा कुकुरपूजा र लक्ष्मीपूजा एकै दिन परेको भन्दै लक्ष्मीपूजा र म्हपूजा तथा म्हपूजा र किजापूजाका बारेमा अल्मल्याउने गरेको भान हामीलाई परिरहेको छ ।
वास्तवमा म्हपूजाको प्रचलन मात्र नेवार समुदायमा छ । यसको महत्व के, किन र कसरी भन्ने कुराको बारेमा ज्योतिषहरुलाई जानकारी गराउन नसकेको कारणले हो वा यसबारेमा बुझेर बुझ पचाउने प्रयास हो वा यो पर्वको महत्वमाथि नै धावा बोल्न खोजेको हो – हामीले अध्ययन गर्न जरुरी भएको देखिएको छ ।
क) काग तिहार
तिहार नेपालीहरूले मनाउने गरेको दोस्रो ठूलो चाड हो । यसलाई बत्ती वा उज्यालोको चाड पनि भनिन्छ । यो कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन रहन्छ जसलाई यमपञ्चक पनि भन्ने गरिन्छ । तिहारभरि नै मानिसहरू अभ्यङ्ग स्नान गरी आ–आफ्नो संस्कारअनुरूप तिहार पर्व मनाउँदछन् ।
पहिलो दिन अर्थात् कार्तिक कृष्ण त्रयोदशीको दिनलाई काग तिहार (क्वःपूजा) भनिन्छ । हिन्दू दर्शनको मान्यताअनुसार कागले समाचार लैजाने र ल्याउने सन्देशबाहकका साथै यमराजको दूतका रूपमा काम गर्दछ भन्ने जनश्रुति रहेको छ ।
यसका अतिरिक्त कागले घरवरपर जम्मा भएका फोहोर मैला पनि सफा गरिदिन्छ । त्यसैले यो दिन घरमा पाकेको रोटी,भात, दाल, तरकारी, मासु आदि कागलाई ख्वाई कागको पूजा हुने गर्दछ ।
यो दिन औषधिका अधिष्ठाता धन्वन्तरी देवताको जन्म दिन हो । भनिन्छ समुन्द्र मथन गर्दा धन्वन्तरी देवता अमृतको कलश लिएर निस्केका थिए । हिन्दू आयुर्वेदका वैद्यहरू नारायणलाई धन्वन्तरी मान्दछन् भने बौद्ध आयुर्वेदका वैद्यहरू लोकेश्वरलाई “भैषज्य तथागत” भनी मान्दछन् । (सालाना मनाउँदै आइरहेको चाडपर्व, पृ. ६२, विनोदमान राजभण्डारी)
ख) कुकुर तिहार
तिहार पर्वको दोस्रो दिन कार्तिक कृष्ण चतुर्दशीलाई कुकुर तिहार (खिचाःपूजा) भनिन्छ । कुकुरलाई भैरवको बाहन तथा यमराजको दूत मानिन्छ ।
सामाजिक व्यवहारमा कुकुर हाम्रो घर–परिवारको रक्षा र रेखदेख गर्ने प्राणी हो जसले हामीलाई जस्तै दुःख वा विपद् आइपर्दा इमान्दारितापूर्वक साथ दिन्छ । त्यसैले घरमा गरिने नित्य पूजाजस्तै कुकुरलाई पानीले चोख्याई टीका, फूलमाला लगाइदिई त्यसलाई मनपर्ने रोटी, मासुका साथ घरमा पाकेका खानेकुरा दिइन्छ, बत्तीसमेत दिएर पूजाको विधि अपनाइन्छ ।
महाभारतका अनुसार कुकुर धर्मराजका रूप हुन् । पञ्च पाण्डवहरू स्वर्गलोकका लागि प्रस्थान गर्दा कुकुरले डो¥याएको र स्वर्गलोक पुगेपछि कुकुरले त्यो रूप त्यागी आफ्नो वास्तविक स्वरूप धर्मराजमा परिणत भएको हुँदा सोही विश्वासका आधारमा पनि आजपर्यन्त यो पूजाले विशेष स्थान ओगटेको हुनुपर्छ । भनिन्छ कृष्णजीले यसै दिनमा नरकासुर नामका दैत्यलाई मारेका थिए । त्यसैले यसलाई नरक चतुर्दशीका रूपमा पनि सम्झने गरिन्छ ।
यो दिनमा हनुमानजीको जन्म भएको हुँदा यो दिनमा हनुमानजीको मूर्तिमा सिन्दुर मिसाई मुछेको तेल घसिदिनाले डर र त्रासबाट मुक्ति पाइने विश्वास गरिन्छ । त्यस्तै यो दिनमा धनकी देवी लक्ष्मी तेलमा विराजमान हुने हुँदा यो दिनमा शरीरमा तेल घस्नाले धनको कमी नहुने धारणा पाइन्छ । (राजभण्डारी ः ६२)
ग) गाई तिहार तथा लक्ष्मी पूजा
तिहार पर्वको तेस्रो दिन कार्तिक कृष्ण औंसीमा लक्ष्मीदेवीको पूजा–अर्चना दुई किसिमबाट गर्ने प्रचलन छ । बिहान गाई वा बयललाई धनसम्पत्तिकी देवी लक्ष्मीमाताको प्रतिरूप मानी गौमूत्रद्वारा घर–आँगन, कोठा–चोठा र पूजाकोठासमेत पवित्र तुल्याई गौमाताको पूजा गर्ने प्रथा रहेको छ ।
घरमा हुने सदाको नित्य पूजाजस्तै गाईलाई पानीली चोखो पारी टीका, फूलमालाले पूजा गरी जनैपूर्णिमामा बाँधेको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिने गर्नाले मानिसको मृत्यु हुँदा उसको हंस (प्राणवायु) शरीरबाट मुक्त भई वैतरणी नदी पार गर्न सघाऊ पुग्ने विश्वास गरिन्छ । यो दिनमा गाईलाई मन पर्ने धान, नून, रोटी, फलपूmल आदि ख्वाई बत्ती चढाई पूजा सम्पन्न गरिन्छ ।
साँझ घर–घरमा विशेष सरसफाइ गरी सम्पूर्ण भाँडावर्तन पात्र आदि चम्काई घरैभरि बत्ती बाली धनकी प्रतिमूर्ति लक्ष्मीमाताको आगमनको प्रतीक्षा गर्दै अहोरात्र पूजा आराधना गर्ने वैदिक परम्परा छ ।
धनकी देवी लक्ष्मीमाताको स्वागतार्थ घर–घरमा झिलीमिली बत्ती बाली लक्ष्मीपूजाको भव्य तयारी गरिन्छ । नेपालदेशीय सम्वत् नेपाल सम्वत्अनुसार यो दिन वर्षको अन्तिम दिन हो ।
नेवारहरू वर्षभरिको कारोबारको लेखाजोखा गरी बहीखाता बन्द गर्दछन् । यो दिनमा बिहान नुहाएपछि अमलाले चोखो पार्नु उत्तम ठानिन्छ । धन साधन हो, साध्य होइन । आजको आर्थिक जटिलताले गाँजेको युगमा यो विना जीवनरूपी डुँगालाई अगाडि बढाउन गा¥हो पर्दछ ।
त्यसैले जीवनलाई अर्थपूर्ण ढङ्गबाट सञ्चालन गर्नका लागि स्रोत साधनकी देवी लक्ष्मीको पूजा आराधना गर्नका निमित्त सबैले घरको आँगनदेखि ढुकुटीसम्म लिपपोत गरी मूलढोका हुँदै ढुकुटी,पूजाकोठीसम्मका लिपेका ठाउँमा लक्ष्मीदेवीको पदचिन्ह बनाई फूल, लावा, अबिर छरी घरका सबै झ्याल, ढोकामा लक्ष्मीमाताको स्वागतार्थ फूलमालाले सिँगार्दछन् ।
धनकी देवी लक्ष्मी आप्mनै शरीरमा सजाएकी मणि, माणिक्य, हीरा, जवाहरात, सुन, चाँदी आदि बहुमूल्य रत्नजडित आभूषणबाट प्रदीप्त हुने भएकाले तिनको स्वागतका लागि मानिसहरू घरको ढोका, झ्याल, बाटो, सिंढी, बुर्जा आदि सबै ठाउँमा बातीका रूपमा प्रयुक्त कपडालाई तेलमा भिजाई घरै झलमल्ल हुने गरी पालाहरूमा दियो बाल्ने गर्दछन् ।
आजभोलि घर–घरमा बिजुली बत्तीको सुविधा भएकाले बिजुली बत्तीका माला वा लरीहरू बाली पुरै घर झकिझकाउ पारेका हुन्छन्
लक्ष्मी पूजा सम्पन्न गर्न ढुकुटीमा लिपपोत गरी चामल वा गहुँको पिठो (चुँ) ले मण्डल लेखी त्यसमाथि धान, लावा, अक्षता, पूmल आदि आसनका रूपमा बिछ्याई त्यसमाथि लक्ष्मीका लागि भनी बनाइएको अलग्गै बाकस बसालिन्छ र त्यो बाकसमा हस्तलिखित लक्ष्मीमाताको चित्र टाँसिन्छ ।
बाकसको दायाँ–बायाँ अरू मण्डलहरू लेखी त्यसमाथि पनि धान, लावा, अक्षता, फूलको आसन बनाई त्यसमाथि कलश, सुकुन्दा, पानस, नयाँ कुचो, अन्ति र धाला स्थापना गरिन्छ ।
यसपछि अष्टस्वरूपा लक्ष्मी – द्विभुजा लक्ष्मी, गजलक्ष्मी, महालक्ष्मी, वीरलक्ष्मी, द्विभुजावीर लक्ष्मी, अष्टभुजावीर लक्ष्मी, श्रीदेवी र प्रसन्न लक्ष्मीलाई सम्झँदै जीवनमा प्राप्त धन, ऐश्वर्य, मान स्थिर भई कायम रहोस् भनी लक्ष्मीस्तोत्र पाठ गरी सबै पूजासामग्री, रोटीभाग, फलफूल र प्रसादद्वारा श्रद्धा भक्तिपूर्वक देवीको पूजा आराधना हुन्छ ।
भनिन्छ लक्ष्मीमातालाई मन पर्ने फूलहरूमा लक्ष्मीपूmल र कमलको फूल हुन् । त्यस्तै प्रसादादिमा जाइफल, ल्वाङ, अलैँची, कपूर, गाईको दूध, सख्खर राखेर बनाएको लड्डु लक्ष्मीका मनपर्ने बस्तुहरू हुन् । (राजभण्डारी ः ६२) सुखरात्रि भनिने यो दिनमा लक्ष्मीलाई जगाउन तास, त्रिपासा, कौडी आदिको जुवा खेल्ने, देउसी भैली खेली नाचगान गर्ने र रमाइलो मनाउने चलन पनि रही आएको छ ।
हिन्दूधर्ममा वर्षभरिमा चार विशेष रात्रिहरू छन् । शिवजीको महिमा गाइने रात्रिलाई शिवरात्रि भनिन्छ भने कृष्णजीको जन्म भएको रातलाई मोह रात्रि भनिन्छ । त्यस्तै दुर्गा भवानीको आराधना हुने महाअष्टमी र महानवमीको बीचको रातलाई कालरात्रि भनिन्छ र लक्ष्मीमाताको उपासना गरिने रातलाई सुखरात्रिका रूपमा लिइन्छ ।
घ) गोवर्धन पूजा
तिहारको चौथो दिन कार्तिक शुक्ल प्रतिपदाको दिन हो । यो दिनको बिहान गोवर्धन पूजा हुन्छ । यसको पछाडि लुकेको एउटा पौराणिक घटना वा कथा स्मरण गर्नु जरूरी छ ।
परापूर्वकालमा कृष्णजीले गोकुलवासीलाई इन्द्रको पूजा गर्नुको साटो गोवर्धन पर्वतको पूजा गर्न भनेपछि मकै, कोदो भिœयाई धानबाली काट्ने समयमा इन्द्र रिसाई गोकुलमा मुसलधारे वर्षा गराए । गोकुलवासीलाई ठूलो आपत् आइलाग्यो ।
ब्रजवासीहरूमाथि आइलागेको यस्तो विपत्ति देखेपछि कृष्णले उनीहरूको सहयोगार्थ गोवर्धन पर्वतलाई जुरूक्कै उठाई तिनको रक्षा गरिदिए । यसै घटनाबाट प्रभावित भई यो दिनमा गोवर पर्वत बनाई गोरू र गोबर तथा खेतीपातीमा प्रयोग हुने हलो र डल्लेँठोसमेतको पूजा गर्ने प्रचलन भएको विश्वास गरिन्छ ।
कसैले यसलाई अन्नको पर्वत गोवर्धन वा अन्नकुटको पूजा गरिने विशेष पर्वका रूपमा स्वीकारेको पनि पाइन्छ । यो दिनमा महादानी बलि राजाको सम्झना गरी उनको पनि पूजा गर्ने गर्दछन् ।
ङ) नयाँ वर्ष (न्हू दँ)
नेपालदेशीय पञ्चाङ्गअनुसार कार्तिक शुक्ल प्रतिपदा नेपाल सम्वत्को पहिलो दिन हो । यो सम्वत्को प्रारम्भसम्बन्धमा विभिन्न लोकोक्तिहरू पाइन्छन् । त्यसमध्येको एउट लोकोक्ति यसप्रकार रहेको छ ।
भक्तपुरका राजा आनन्ददेवलाई सिद्धवन्त ज्योतिषले भद्रमती र विष्णुमतीको दोभान लखुतीर्थबाट शुभ साइतमा बालुवा निकालेर ल्याए त्यो सुनमा परिणत हुन्छ भनेपछि उनले केही भरियालाई शुभ साइत पर्ने गरी बालुवा निकालेर ल्याउन खटाए ।
त्यति टाढा काठमाडौँदेखि बालुवा बोक्नुका पछाडि केही रहस्य हुनसक्ने ठानी शंखधर साख्वाले ती भरियालाई फकाई फुल्याई बढी पैसा दिई सो शुभ साइतमा निकालिएको बालुवा आप्mनो घरमा खन्याउन लगाए र ती भरियालाई पुनः खोला पठाई थप बालुवा निकाल्न लगाई पछि निकालिएको बालुवा राजाले भनेको ठाउँमा राख्न अराए ।
साख्वाको घरमा खन्याइएको शुभ साइतको बालुवा चार दिनपछि सुनमा परिणत भयो तर राजाको भण्डारमा खन्याइएको बालुवामा कुनै परिवर्तन आएन ।
आप्mनो घरमा अप्रत्याशित रूपमा सम्पत्ति आर्जन भएपछि शंखधरलाई लोकको कल्याणका लागि केही गर्ने विचार फु¥यो । उनले यो सम्पत्ति कान्तिपुर र भादगाउँका जनताको ऋणमोचनका लागि प्रयोग गरी नयाँ सम्वत् प्रचलनमा ल्याउन राजासँग अनुमति लिए ।
फलतः वि. सं. ९३६ तदनुसार ई. सं. ८७९ अक्टोबर २० बिहीबारका दिनदेखि नेपाल राष्ट्रको नामबाट नेपाल सम्वत् प्रचलनमा आयो । यो सम्वत् वि. सं. १९६० सम्म नेपालको सरकारी कामकाजको सम्वत्का रूपमा प्रयोगमा रहेको थियो ।
शंखधर साख्वाबाट भएको यो लोककल्याणकारी कार्यको कदर गर्दै २०५६ मंसिर २ (ने. सं. ११२० कछलाथ्व दशमी) मा तत्कालीन सरकारले उनलाई नेपालको १४ औं राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
ने. सं. ११२८ कौलागा दशमी (२०६५ कार्तिक ७) मा पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् वैठकबाट नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्कारूपमा घोषणा भएको थियो ।
यो सम्वत्को प्रारम्भ हुने दिन पारी नेवारहरू हरेक वर्ष न्हू दँ देशका विभिन्न जिल्ला जिल्लामा समेत विभिन्न सांस्कृतिक झाँकी, ¥याली, गोष्ठी, कार्यक्रम आदिको आयोजना गरी बडो धुमधामका साथ अद्यापि मनाउँदै आएका छन् ।
च) म्ह पूजा (शरीर,आत्मा पूजा)
म्ह पूजा (शरीर :आत्मा पूजा) नेवारहरूको अत्यन्त महत्वपूर्ण चाड हो । यो दिनमा नेपालदेशीय सम्वत् नेपाल सम्वत् सुरू हुन्छ । यो कार्तिक शुक्ल प्रतिपदाको दिनमा पर्दछ ।
यो दिन नेवारहरू बिहान नुहाइ–धुवाइ सकी बेलुकी म्ह पूजा गर्दछन् । नेवारहरू म्ह पूजाका दिन गरिने शरीर आत्मा पूजाले हरेक शरीर,आत्मा आफैमा पूर्ण छ र हरेकले आ–आप्mनो क्षेत्रबाट स्वशरीर, परिवारजन, समुदाय–समाज र राष्ट्रका लागि समेत अहम् भूमिका निर्वाह गर्न सक्दछ भन्ने तथ्य बोध गराउँदछ ।
यो उत्सवले हामीमा “म को हूँ, म के हूँ, म यहाँ किन छु” भनेर आपूmले आफैलाई चिनी आफ्नो मात्र होइन समग्र समाज र राष्ट्रको पहिचानमा समेत उल्लेखनीय परिवर्तन ल्याउन सकिने भावना अनुप्राणित गराउन विशेष ऊर्जा प्रदान गर्दछ ।
यो पूजा खास गरी यो भौतिक शरीर र यसमा भर परेको आपूmलाई वर्षभरि राम्रो होस्, शुभ होस्, स्वस्थ होस्, सुविचार आइरहोस्, राम्रो हेर्न पाऊँ, राम्रो सुन्न पाऊँ, बोली वचन सदा राम्रो र उचित रहोस् भनेर गरिने शुभ कार्यक्रमको पूजा हो ।
पूर्व वा पश्चिम फर्केर बस्न मिल्ने गरी सबभन्दा माथि देवताको नाममा मण्डप,मण्डल (मन्दः) लेखिन्छ । त्यसपछि बायाँतर्फ परिवारका अरू सबै सदस्यका लागि लेखिन्छ ।
अन्तमा पशुपन्छीको नाममा समेत मण्डप लेखी सबै मण्डलमा पूजा हुन्छ । मण्डल बनाउँदा कचौराको पिँध आकारको पाँचवटा छाप तयार गरिन्छ ।
यो छाप तयार पार्दा पहिला पानीले शुद्ध पारिन्छ र पछि पक्का छाप,दाग रहने गरी तेलले लेखिन्छ । गोलाकारले मण्डलाकार ब्रह्माण्डलाई सङ्केत गर्दछ भने पाँचवटा छापले माटो, पानी, वायु, आगो र आकाश बुझाउने पञ्च तत्वलाई बुझाउँदछ ।
यी छापलाई बीचमा पारी पिठोले षटकोण (सरस्वती कुण्डल) पनि लेख्ने चलन छ । षटकोण बनाउनुको अर्थ सधैँ चाहिने जति ज्ञान प्राप्त भइरहोस् भन्ने हो ।
कसै–कसैले षटकोणको सट्टा स्वस्तिक वा पाँचकुने तारा पनि लेख्ले गर्दछन् र कसैले पाँचवटा छाप,चक्कामाथि नै पिठो (चूँ) ले लेख्ने गर्दछन् । पाँचवटा छाप भएको मण्डलमा आठ दिशा वा खण्ड बन्ने गरी मण्डल विस्तार गरिन्छ ।
यो पूर्व, पश्चिम, उत्तर, दक्षिण दिशाका जोडहरूमा क्रमशः इशान (उत्तर–पूर्व कुना), आग्नेय (दक्षिण–पूर्व कुना), नैऋत्य (दक्षिण–पश्चिम कुना) र वायव्य (उत्तर–पश्चिम कुना) बुझाउने मध्य–दिशाहरू निर्माण गरिन्छ ।
यो आठ दिशाले महादेवको शक्ति माहेश्वरी, विष्णुको शक्ति वैष्णवी, स्कन्दमाताको शक्ति कौमारी, बराह शक्तिको अवतार बाराही, इन्द्रको शक्ति इन्द्रायणी, ब्रह्माको शक्ति ब्रह्मायणी, भगवतीको शक्ति चामुण्डा र अष्टमातृकाको शक्ति महलक्ष्मीको प्रतीक बुझाउँदछन् । यसको पूजा गर्नाले सम्पूर्ण अष्टमातृशक्तिको माया प्राप्त भई रक्षा हुन्छ भन्ने धारणा छ । (राजभण्डारी ः ६२)
म्ह पूजाको अर्थ स्वस्थ भएमा नै कर्म गर्न सकिन्छ, सभक्ति प्रेम रहन्छ, बुद्धिको उचित प्रयोग हुन सक्दछ र सदा आनन्दित भई हँसिलो र हिसिपर्दो भइन्छ भन्ने भाव हो । मण्डप (मन्दः) मा पिठोले लेखिसकेपछि अबिरले दोहो¥याएर लेखिन्छ ।
यत्ति गरिसकेपछि सबै मन्दःमा साहिँली औंलाले पहिला पाँचवटा पहेँलो टीका, त्यसमाथि सिन्दुर टीका र अन्तमा रातो टीका लगाइन्छ । यो टीकामाथि (काँचो) धान, अक्षता, र लावा चढाइन्छ । बौद्धमार्गीहरू चैत्यको प्रतीक गोजा (च्यूराको धूलो भिजाएर बनाएको) पनि एक–एक वटा चढाउँछन् ।
मण्डलमा चढाउने धानलाई बसुन्धराको प्रतीक, भटमासलाई शनिश्चर देवताको प्रतीक र मासलाई सङ्कटाको प्रतीक ठानिन्छ । यी सबै राखिसकेपछि पाँचवटा फूल र जजङ्का चढाइन्छ र मण्डल तयार हुन्छ ।
नेवारहरू यो दिनमा विभिन्न वस्तु कुट्ने,पिस्ने ढुङ्गा वा खललाई कुमारको प्रतीक, कुचोलाई ब्रह्माको प्रतीक, नाङ्लोलाई महादेवको प्रतीक र कलशलाई पवित्रताको प्रतीक मान्दछन् । त्यसैले म्ह पूजा गर्ने बेला यी सबै स्थापना गरी पूजा गरिन्छ ।
पूजामा प्रयोग हुने फल प्रसादहरूमा बिमिरो, भोगते, सुन्तला, चाक्सी, केरा, काल्ज्यामिर, स्याउ, हलुवावेद, ओखर, कटुस, नासपाति, अमला, सत्बयर आदि फलफूल र रोटी, मसलापोका मिलाई किस्तीमा भाग सजाएर राखिन्छ । त्यसमा दश थान काँचो धागोबाट बनेको जजङ्का, फूलमाला (भएसम्म सुपारीको ), फूल (भएसम्म गोदावरी फूल) एक,एक वटा राखेको हुन्छ ।
सुकुन्दामा छोटो खेलुइता (बाती) बाली सबै मण्डलहरूमा फलफूल रोटी चढाई पूजा गरेपछि धूप, सुगन्ध धूप र पाँच जोडा बत्ती बालिन्छ । नकिंले पूजा थाली र दहीको कतारो उठाई सबैलाई ढोग्न लगाउँछ ।
परिवारको ज्येष्ठ सदस्य (थाकाली) ले एउटा हातमा फूल लिई दही निकालेर पूजाथालीमा राखेको अक्षता र रातो टीका मुछेर सुकुन्दाको गणेशजीलाई पूजा गरी जजङ्का लगाइदिन्छन् । त्यसरी नै खल, कुचो, नाङ्लो र कलशको पूजा गर्दछन् ।
यसपछि मुली महिलाले आफै टीका लगाउँछिन् र क्रमैसँग सबैलाई पहेँलो, सिम्रिक र रातो टीका तथा दही लगाइदिन्छिन् । सदस्यहरू सबैले आ–आप्mनो मण्डलमा पाँच–पाँच पटक माथि–तल, अगाडि–पछाडि र आकाशमा पूजा गरी अन्तमा बनाइएको यमराज र पशुपन्छीका लागि भनेर लेखिएको मण्डलमा समेत पूजा गर्दछन् ।
शरीर अक्षताजस्तै कहिल्यै नबिग्रियोस्, ओखरजस्तै बलियो,कडा रहोस्, लावाजस्तै चम्किलो बनोस्, तेलको दागजस्तै गाढा रहोस् र सुपारी पूmलजस्तै कहिल्यै नओइलाओस् भनी अक्षता, लावा, अबिरसहितले पूजा गर्ने परम्परा छ ।
एक हात जति लामो बलेको लामो खेलुइताः (बाती) लाई अक्षताले पूजा गर्न लगाएर हरेकलाई आ–आफ्नो मण्डपमा बाल्न लगाइन्छ । भाग राखेको किस्ती नकिंले दिँदा परिवारका सदस्यलाई अक्षताले पूजा गर्न लगाई सबैलाई सिसगँ भनी हस्तान्तरण गर्छिन् । सबैले त्यसमा राखिएको जजङ्का, फूलमाला र फूल लगाउँछन् ।
पुरूषहरूले दायाँ कञ्चटमा र महिलाहरूले बायाँ कञ्चटमा दही टीका लगाउँछन् । पुरूषहरूले टोपी लगाएका हुन्छन् । म्ह पूजाका क्रममा बाटा वा नाङ्लोमा राखिएको सयपत्री, मखमली (सुपारी), गोदावरी, लक्ष्मीफूल, बुकीफूल, सिन्ह स्वाँलगायतका विभिन्न किसिमका फूलहरूको मिश्रणमा मिलाइएका सुन्तला, केरा, स्याउ, ओखर, कटुस, नासपाति, अमला, सत्बयर आदि विभिन्न फलहरू र रोटीका टुक्राहरू नकिंले सिंफँमा भरी घटीमा तीन–तीन पटक सबै सदस्यहरूलाई अभिषेक (घ्वाल्ल) गर्दछिन् ।
यी सबै कार्य सम्पन्न गरिसकेपछि परिवारका जेठो सदस्य वा दोस्रो मुख्य महिला सदस्यले नकिंलाई उही विधि अपनाई पूजा गर्दछ ।नकिंले सगुन बाटा र अन्ति सँगै राखेर सबैलाई ढोग्न लगाई बारा, फुल, माछा, मासु दायाँ हातमा र कचौरामा रक्सी वा दही बायाँ हातमा लिई हस्तान्तरण गर्दा सानोले ठूलोलाई ढोग्दछ र सबैले एकसाथ सगुन टोक्छन् ।
नकिंले रक्सी वा दही थपिदिन्छिन् । यसपछि एउटा भाँडोमा केरा र चाक्सी काटी त्यसको टुक्रा दहीमा मुछिन्छ र नकिंले यो सबैलाई दिन्छिन् । यसलाई “धौमू” भन्दछ र यसलाई स्वादिलो बनाउन पेडा र बर्फी मिलाउने गर्दछन् । यसपछि थकाली महिला (नकिं) ले “लक्ष्मी भित्र पाल्नुस्” भनी आव्हान गरी बनाइएको माथिदेखि तलसम्मका सबै मण्डप बढारेर म्हपूजा समापन गर्छिन् ।
छ) भाइ टीका (किजाः पूजा)
तिहार अथवा यमपञ्चकको अन्तिम चाडलाई भाइटीका (किजाः पूजा) भनिन्छ । यो कार्तिक शुक्ल द्वितीयाका दिन पर्दछ । हिन्दू धर्ममा एउटा किम्बदन्ती छ, यमराजकी दिदी यमुनाले आफ्नो भाइलाई निमन्त्रणा गरी पाँच दिनसम्म अत्यन्त माया, प्रेम गरी श्रद्धापूर्वक पूजा गरेपछि यमराज खुशी भए र दिदीलाई ‘के इच्छा छ माग्नुस्’ भनेपछि यमुनाले ‘यो पाँच दिन सबै दिदीबहिनीहरूले मैले जस्तै आ–आफ्नो दाजुभाइहरूलाई यसरी नै माया प्रेम दर्शाई पूजा गर्ने अवसर मिलोस् ।’
भनी वर मागिन् । यमराजले ‘तेलको चिन्ह नसुकेसम्म, ओखर नभिजेसम्म, सुपारीफूल नओइलाएसम्म म कुनै दाइभाइलाई तिनका दिदीबहिनीबाट छुट्याउने छैन भन्दै ‘तथास्तु’ भनी दिदीको माग स्वीकारेछन् । त्यसैले नै यो पाँच दिनको तिहार पर्वलाई यमपञ्चक नामकरण गरिएको हो ।
यसैबीच एउटा अर्को भ्रम पनि सिर्जना भएको छ – एकै महिनामा दशैं तिहार परेमा वा मंसिरमा भाइटीका परेमा कि दिदीबहिनीले दशैंमा दाजुभाइको हातबाट टीका नथाप्ने र टीका थापेमा तिहारमा दाजुभाइलाई टीका नलगाउने भन्ने ।
तर दशैं मनाउने नै हो भने यसको अर्थ मूलतः ठूलाबडा वा जेठोपाकोबाट सुस्वास्थ्य र दीर्घायुको आशिर्वचन,आशिर्वाद पाउनका लागि हो भने तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिनुको तात्पर्य पनि दाजुभाय तथा दिदीबहिनीबीचको माया–प्रेम, सद्भावना यमराज र यमुनाको जस्तो स्वच्छ, स्वस्थ र दीर्घायुको शुभेच्छा राखी मनाइने पर्व हो ।
तर हामीकहाँ विभिन्न मत–मतान्तर भैदिँदा हामी सर्वसाधारणलाई अल्मल्याउन खोजिएको भान पर्ने गरेको छ । सम्बन्धित ज्योतिषविद् तथा संस्कृतिविद्हरुबाट परम्परागत मूल्य मान्यतामा असर नपर्ने गरी यसलाई बेलैमा सम्बोधन गर्नु अपरिहार्य आवश्यकता हो ।
(लेखक प्रधान नेपाल भाषा मंका खल बागलुङका पूर्वअध्यक्ष हुन् ।)