
नेपाल पत्रकार महासंघले ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि विभिन्न सुविधा ल्याउने भएको छ । ३० वर्षसम्म निरन्तर काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक १० हजार भत्ता र आपत्कालीन सहयोगका लागि कोष स्थापना गर्ने तयारीमा रहेको पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।
बिहीबार नेपाल पत्रकार महासंघ काभ्रे शाखाको २८ औँ स्थापना दिवस तथा वार्षिक साधारणसभाका अवसरमा बोल्दै आचार्यले यस्तो बताएका हुन् ।
महासंघको पहलमा ५ करोड ३४ लाखको पत्रकार सम्मान वृद्धि कोष’ स्थापना गरेर ३० वर्ष निरन्तर पत्रकारिता गरेर ६५ वर्ष पुगेका लाई पेन्सन दिने व्यवस्था गरेको र त्यसलाई अब कार्यान्वयन लैजाने तयारीमा रहेको आचार्यले जानकारी लिए ।
त्यसैगरी द्वन्द्व पीडित पत्रकार र अपांगता भएकालाई पत्रकारले मासिक १० हजारका दरले जीवन निर्वाह भत्ता दिने निर्णय भएको उनले बताए । आपत्कालीन अवस्थामा सहयोग गर्न एक करोडको कोष स्थापना गरेकामा त्यसका लागि अहिले रु ६० लाख जम्मा भइसकेको र बाँकी रु ४० लाख महाधिवेशनसम्म पुग्दा जम्मा गरिसक्ने आचार्यले बताए ।