३ जेष्ठ २०८१, बिहीबार

 

‘बागलुङ महोत्सवलाई आर्थिक रुपमा उपलब्धिमूलक बनाउँदै छौं’

श्रीजय श्रेष्ठ, कोषाध्यक्ष, बागलुङ उद्योग वाणिज्य संघ

 

आगामी पुस ११ देखि बागलुङ महोत्सव गर्दै हुनुहुन्छ । यसको आर्थिक लक्ष्य कस्तो छ ?

हामीले यसपटकको बागलुङ महोत्सवको आर्थिक लक्ष्यलाई बहुआयामिक ढंगले लिएका छौं । महोत्सवलाई सबैको सरोकारको विषय बनाउन सकिए यसले ठूलो आर्थिक कारोबार गर्न सफल हुनेछ ।

हामी बागलुङ मात्र होइन, समग्र धौलागिरिको आर्थिक बजारलाई ध्यान दिएर व्यावसायिक सहकार्य गर्न खोज्दै छौं । यो कामको उपयुक्त थलो महोत्सवलाई बनाउँदै छौं । महोत्सवबाट ३० लाख जोगाउने लक्ष्य राखेका छौं । आर्थिक संयोजक भएकाले मैले सबै कार्यसमितिका साथीहरूलाई यो लक्ष्य हासिल गर्न मितव्ययिता अपनाउन भनेको छु ।

मेला, महोत्सवको मुख्य उद्देश्य व्यापार र स्थानीय उत्पादनलाई बजारीकरण गर्ने हुन्छ । यसपालिको महोत्सव यो उद्देश्य प्राप्त गर्न कति गम्भीर छ ?

बागलुङ विभिन्न जाति र जनजातिको मेहनत, परिश्रम र ठूलो संघर्षबाट बनेको व्यावसायिक गन्तव्य हो । तीन–चार सय वर्षपहिला हाम्रा पुर्खा कृषि, पशुपालन, घरेलु उद्योगलाई धर्म र संस्कृतिसँग जोडेर व्यापार गर्थे । संघका तत्कालीन अध्यक्ष हरिप्रसाद श्रेष्ठको नेतृत्वमा २०४९ सालमा बागलुङको परम्परागत चैते दसैं मेलालाई संघले व्यवसायीकरण गरियो । तत्कालीन अध्यक्ष सहदेव राजभण्डारीको नेतृत्वमा २०५९ सालदेखि महोत्सव आयोजना गरियो ।

चैते दसैं र एकादशीजस्ता मेलाहरूको संरक्षण गर्दै यिनलाई व्यापार प्रवर्धनको माध्यम बनाउनुपर्छ । परम्परागत रूपमा धार्मिक मेलाहरूमा पूजाअर्चना, भेटघाट, वस्तु आदानप्रदान र खरिद गर्ने व्यापारकोे पुरानो शैलीमा केही आधुनिकता थपेर महोत्सवलाई पुरानो झल्को दिने गरी सूचना, प्रविधि र सञ्चारको प्रयोगमार्फत व्यापारिक लक्ष्यलाई परिणाममुखी बनाउँदै छौं ।

महोत्सव फरक तरिकाले गर्ने भनिरहनुभएको छ, यसका आर्थिक विशेषता के–के हुन् ?

मलाई जेसिजको ४० औं राष्ट्रिय महाधिवेशन  बागलुङमा आयोजना गरेको अनुभव पनि छ । विभिन्न संघसंस्था र सहकारीको नेतृत्व गरेको हैसियतले महोत्सवको आर्थिक पाटोलाई उपलब्धिमूलक बनाउन विशेष योजनासाथ लागेका छौं ।

महोत्सव सफल पारेर बागलुङ व्यावसायिक गन्तव्य हो भन्ने सन्देश दिन खोजेका छौं । महोत्सवबाट ठूलो रकम जोगाएर बागलुङ उद्योग वाणिज्य संघलाई आर्थिक रूपमा बलियो बनाउने रणनीति छ ।

जयराम भारी अध्यक्ष हुँदा र विदेश कुमार श्रेष्ठ कोषाध्यक्ष हुँदा संघको ५ लाखको कोषलाई ११ लाख थपेर १६ लाख पुर्याउँनु भएको थियो।हामीले यो कोषलाई धेरै रकम थप्ने योजनामा छौं ।

यो अभियानमा सबै व्यवसायीलाई जोडेर व्यापारीलाई संकट र समस्या परेका बेला हाम्रो संघ छ भन्ने भरोसायोग्य वातावरण बनाउँदै छौं । संघमा सुविधासम्पन्न सूचना केन्द्र पनि बनाउने योजना छ ।

अर्को वित्तीय साक्षरता र व्यावसायिक सुरक्षाको कार्यक्रम छ । सामाजिक उत्तरदायित्वअन्तर्गतका काम पनि गर्दै जाने कार्यक्रम छ । यसलाई संघको आर्थिक योजनामा केन्द्रित गरेका छौं ।

काठमाडौं उपत्यकाबाट महोत्सवलाई व्यावसायिक प्रायोजनको अवस्था कस्तो रहयो ?

अत्यन्त उत्साहजनक भयो । महोत्सवको इतिहासमै पहिलोपटक ग्लोबल आइएमई बैंकले १५ लाख दिएर मुख्य प्रायोजक बनेको छ । सहप्रायोजन प्रभु बैंक र दोहोरी गीतको प्रायोजन सिटी एक्सप्रेसले गरेको छ ।

यसै गरी नेपाल टेलिकम, अर्घाखाँची सिमेन्ट, सिजी फुड्स नेपाल, गोल्छा अर्गनाइजेसन, यती ब्रुअरी, अर्ना बियरलगायतले प्रायोजन गरेको छ । यति धेरै व्यावसायिक कम्पनीको सहभागिता हुनु हाम्रा लागि सुखद खबर हो । काठमाडौं उपत्यका मात्र होइन, बागलुङका सबै स्थानीय तह, बैंक, सहकारी, उद्योग, कम्पनी र व्यवसायीबाट प्रायोजनको सहभागिता धेरै राम्रो छ ।

महोत्सवमा कति कारोबार हुने अनुमान छ ?

महोत्सवमा स्टल बुकिङ उत्साहजनक भएको छ । १६० स्टलमध्ये ९० प्रतिशत बुक भइसके । अंग्रेजी नयाँ वर्षको आरम्भ, अनुकूल मौसम रहेको र अरू जिल्लामा महोत्सव नरहेकाले यसपटकको महोत्सवमा १० करोडको कारोबार हुने अनुमान गरेका छौं ।

स्थानीय उत्पादन र खानपिन सामग्रीहरूलाई उच्च प्राथमिकतामा राखेका छौं । आजभोलि अर्गानिक वस्तु र खानपानमा उपभोक्ताको रुचि बढेको छ । यसले गर्दा पनि स्थानीय उपात्दनको बिक्री अत्यधिक हुने अनुमान गरेका छौं ।

संघले अघिल्ला मेला–महोत्सवमा आर्थिक बचत गर्न नसकेको आरोप छ नि ?

विसं २०२० सालमा संस्थापक अध्यक्ष शिव कुमार प्रधान र उहाँको समकालिन साथीहरुले पंचायत कालमा धेरै दुख र संधर्षले बागलुङ उद्योग वाणिज्य संघ स्थापना गर्नु भएको हो ।बागलुङमा मेला–महोत्सवका लागि पूर्वाधार भएको ठाउँ नै छैन । जहाँ महोत्सव गरे पनि खर्च र सुरक्षालाई विशेष ध्यान दिने गरेका छौं ।

आयोजना गर्दाका आफ्नै दुःख र समस्या छन् । नदेखिने खर्च धेरै हुने रहेछ । यसपालि खर्च कम गर्ने र पैसा बचत गर्ने प्रतिबद्धता जनाएका छौं ।सबै सरोकारवालाको साथ भए र हामी सबै आर्थिक अनुशासनमा बसे आर्थिक बचत गर्ने हाम्रो वाचा पूरा हुनेछ ।

टिकटबाट कति आम्दानी गर्ने लक्ष्य छ ?

जयराम भारीको नेतृत्वले गएको महोत्सवमा टिकटबाट ३३ लाख आम्दानी गरेको थियो । यसपटकको महोत्सवमा हामीले टिकटबाट ५० लाख आम्दानी गर्ने लक्ष्य राखेका छौं । टिकट दर ८० रुपैयाँ छ । विद्यार्थीलाई ५० रुपैयाँ तोकेका छौं ।

व्यापारीको हक हितमा तपाईहरु कसरी लाग्नु भएको छ ?

उद्योग वाणिज्य संघ सबैको सहयोग र सहकार्यले आजको अवस्थामा आएको हो ।यसको विकासमा सबैको योगदान रहेको छ । यहाँ गाउँ र शहरको ,खुद्रा र होलसेल व्यवसायीहरुको आ.आफनो समस्या र चुनौतिहरु छन ।म आफैले खुद्रा र होलसेल व्यापार गरेर आएको अनुभवमा म के भन्न सक्छु भने हामी सबै नमिलेसम्म यसको सहि समाधान दिन सक्दैनौ ।

मैले सूर्य नेपाल ,सिजि फुड्स नेपाल र एति ब्रोहरीको अधिकृत विक्रेता भएको आधारमा पनि के भन्छु भने व्यापारी एकजुट भएर सबै कुराको सामान गर्न सकिन्छ ।व्यापारीहरुलाई समस्या पर्दा विगतदेखि हाम्रो नेतृत्वले व्यवसायिक हितको लागि संघर्ष गरेर सफलता पाएको इतिहास हाम्रो सामु ताजै छ ।

 प्रस्तुति : मुकेशचन्द्र राजभण्डारी

प्रतिक्रिया दिनुहोस्