बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ बजारमा रहेका बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुसँग वित्तीय सुरक्षाका बारेमा छलफल गरेको छ ।
बैंक तथा वित्तीय संस्थाकामा हुन सक्ने सम्भावित घटनाबाट सचेत गराउने उद्देश्यले अन्तरक्रिया गरिएको हो ।
बागलुङ बजारमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागि भएको कार्यक्रममा छलफलमा आपतकालिन सेवा प्रदायक संस्थाहरु मध्यका जिल्ला प्रहरी कार्यालय, नजिकको प्रहरी चौकी , दमकल, अस्पताल, टेलिकम, विद्युत कार्यालयका फोन नम्वरहरु राख्ने आग्रह गरिएको जिल्ला प्रहरी कार्यलय बागलुका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।
न्यूनतम सुरक्षाका उपायहरु अपनाउन सुरक्षा गार्डको व्यवस्थापन गर्ने, सुरक्षा गार्डहरुको पहिचान खुल्ने कागजपत्र राख्ने तथा आधारभुत सुरक्षा सतर्कता सम्बन्धी विषयमा प्रशिक्षण गराउने, मोबाइल बैंकिङमा हुन सक्ने असुरक्षाको बारेमा ग्राहकहरुलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने आग्रह गरिएको प्रहरी उपरीक्षक कँडेलले बताउनु भयो ।
बैंकको सुरक्षालाई प्रविधिमैत्री बनाउने, सुरक्षामा देखिएका समस्याको बारेमा मिलेर समाधान खोज्ने, बजारमा रहेका सिसी क्यामराको नियमित मर्मत र उपयोगमा ल्याउने, बैंक- वित्तीय संस्थामा सुरक्षा प्रबन्ध फितलो हुन नदिन सरोकारवालाहरुसँग समन्वय गर्ने र सुरक्षा गार्डलाई आवश्यक तालिम दिने विषयमा छलफल भएको बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले नयाँ विश्वलाई बताउनु भयो ।
अहिले बागलुङ बजारमा २४ वटा बैंकले सेवा दिइरहेको छ ।













































































































































































































