१२ मंसिर २०८३, शनिबार

 

नेकपा बागलुङ नगरको राष्ट्रिय जागरण अभियान वडाकेन्द्रित गरिने

बागलुङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागलुङ नगर समितिले शनिबार बजारबाट सुरु गरेको राष्ट्रिय जागरण अभियानलाई अब वडाकेन्द्रित बनाउने निर्णय गरेको छ ।

जनताको घरदैलोमा पुग्ने, कार्यकर्ताको मनोविज्ञान बुझ्ने र संगठन निर्माणलाई बलियो बनाउने उद्देश्यले अभियानलाई वडास्तरसम्म विस्तार गर्न लागिएको नेकपा बागलुङ नगर समितिका संयोजक निर्मलबहादुर श्रेष्ठले जानकारी दिनुभयो । अभियान सञ्चालनका लागि नेताहरूको जिम्मेवारीसमेत बाँडफाँट गरिएको उहाँले बताउनुभयो ।

अभियानका क्रममा नगर पार्टीका वडा अध्यक्ष, सदस्य तथा जनवर्गीय संगठनका अध्यक्षहरूले पार्टीको नेतृत्व र कार्यशैली सुधार गर्नुपर्ने सुझाव दिएका छन् ।

उनीहरूले नेताहरूको गलत कार्यशैली सच्याउनुपर्ने, पार्टी विधानअनुसार समिति सञ्चालन गर्नुपर्ने, जिम्मेवारी पाएका नेताहरू कार्यक्षेत्रमा खटिनुपर्ने र जनप्रतिनिधि पार्टी तथा जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

त्यसैगरी वडा तहमा रहेका नयाँ तथा पुराना इमानदार कार्यकर्तालाई उपयुक्त जिम्मेवारी दिनुपर्ने र पार्टीलाई नयाँ जीवन दिन सबै तहको नेतृत्व इमानदार, जवाफदेही, पारदर्शी र जनमुखी हुनुपर्ने सुझाव दिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं बागलुङ जिल्ला इन्चार्ज कमल घिमिरेले नेकपालाई बलियो जनआधारित पार्टी बनाउन इमानदार र सचेत प्रयास आवश्यक रहेको बताउनुभयो ।

पार्टी तथा जनवर्गीय संगठनका नेतृत्व जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या बुझ्ने र सेवामा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो । यसका लागि नगर नेतृत्व वडामा केन्द्रित हुनुपर्ने र तल्लो तहबाट माथिल्लो समितिमा सही सुझाव पुग्नुपर्ने उहाँले बताउनुभयो

।कार्यक्रममा नेकपा गण्डकी प्रदेश सल्लाहकार रुद्र शर्मा, प्रदेश सदस्य भोजराज आचार्य, बागलुङ नगरपालिका–४ का वडा पार्टी अध्यक्ष यामलाल आचार्य, नेवा मुक्ति मोर्चा बागलुङका पूर्वअध्यक्ष निरज शाक्य, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका सदस्य टेकबहादुर विक र राजु विक, नगर अध्यक्ष हेमलाल पौडेललगायतले धारणा राख्नुभएको थियो ।

त्यस्तै नेकपा नगर समिति सदस्यहरू नरबहादुर केसी, कृष्ण सापकोटा, धनमाया शर्मा, भीम शर्मा, नेपाल उद्योग व्यापार महासंघका सचिव मुकेशचन्द्र राजभण्डारी, नेकपाका केन्द्रीय सदस्यहरु यज्ञवल्लभ, गण्डकी प्रदेश सांसद कुसुम बुढा, कृष्ण केसी र नगर इन्चार्ज कुमार विक्रम क्षेत्रीले पनि सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम नेकपा बागलुङ नगर समितिका संयोजक निर्मलबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung