बागलुङ । महिला हित बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।
रजत जयन्तीका अवसरमा सोमबार बागलुङ बजारमा सहकारीले स्थापनाकालदेखि हालसम्म हासिल गरेका आर्थिक तथा सामाजिक उपलब्धि प्रस्तुत गरिएको छ ।
कार्यक्रममा सहकारीका प्रबन्धक निशा कुँवरले संस्थाको २५ वर्षे यात्राका गतिविधि, आर्थिक उपलब्धि तथा महिलाको हितमा सञ्चालन गरिएका सामाजिक कार्यक्रमबारे जानकारी गराएका थिए ।
साथै सहकारीका अध्यक्ष लिलादेवी खड्काले सहकारीले हासिल गरेका आर्थिक उपलब्धी, सहकारीले जनस्वास्थ्य, सीपमूलक तालिम, प्रौढ शिक्षा, लैंगिक हिंसा न्यूनीकरणसम्बन्धी सचेतना तथा महिला सशक्तीकरणका क्षेत्रमा गरेका कामबारे प्रस्तुति दिएका थिए ।
यसै गरि सहकारीले विपन्न महिला र जेष्ठ नागरिक हितमा गरेका कार्यहरुको बारेमा पनि खड्काले जानकारी दिनु भएको थियो ।
कार्यक्रममा सहकारीको २५ वर्षको विश्वास, सहकार्य र समृद्धिको यात्राबारे अन्तरक्रिया गरिएको थियो । सहभागीहरूले सहकारीले महिलाको आर्थिक तथा सामाजिक विकासमा पुर्याएको योगदानबारे धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि मान कुमारी किसान, सेयर सदस्यहरू रेणु केसी, उमा शाक्य तथा लखन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजेन्द्र थापा मगरले मन्तव्य राखेका थिए ।
२०५२ सालमा महिलाहित संरक्षण समूहका रूपमा सुरु भएको संस्था २०५८ सालमा महिला हित बचत तथा ऋण सहकारी संस्थाका रूपमा दर्ता भएको थियो ।
२५ जना महिलाको प्रतिव्यक्ति एक सय रुपैयाँका दरले जम्मा गरिएको २ हजार ५०० रुपैयाँ सेयर पुँजीबाट सुरु भएको सहकारीमा हाल १३ सय ४९ जना सेयर सदस्य रहेका छन् ।
संस्थाको सेयर पुँजी २ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।
सहकारीका अध्यक्ष लिलादेवी खड्काको अध्यक्षता, उपाध्यक्ष विद्यालक्ष्मी खड्काको स्वागत र सचिव पम्फा किसानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
तस्बिर विनोद थापा



















































































































































































































