६ मंसिर २०८३, आईतवार

 

बागलुङमा लक्ष्मी नारायण भगवानको रथयात्रा निकालियो

बागलुङ । बागलुङ बजारमा भगवान् लक्ष्मी नारायणको परम्परागत रथयात्रा शनिबार निकालिएको छ। हरिबोधनी एकादशीको भोलिपल्ट द्वादशीका दिन निकालिने रथयात्रा नारायण चोकबाट सुरु भएको हो।

धिमेबाजासहित लक्ष्मी नारायण भगवानको रथलाई बागलुङ बजारका विभिन्न टोल तथा चोक परिक्रमा गराइएको थियो। रथयात्रामा स्थानीय भक्तजन तथा श्रद्धालुहरूको सहभागिता रहेको थियो।

एक सय वर्षअघिदेखि हरिबोधनी एकादशीको भोलिपल्ट लक्ष्मी नारायण भगवानको रथयात्रा निकाल्ने परम्परा रहेको लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयराम भारीले नयाँ विश्वलाई बताउनुभयो।

बागलुङका तत्कालीन संस्कृतिकर्मी टेकनारायण भारी, बहुद प्रसाद भारी (मानकाजी भारी) र अश्विनीकुमार वझान्थाछेले विसं १९८३ मा बागलुङ नगरपालिका–३, नारायण चोकमा लक्ष्मी नारायण मन्दिर स्थापना गर्नुभएको थियो।

लक्ष्मी नारायणको मूर्ति भारतको बनारसमा निर्माण गराई बागलुङ ल्याइएको थियो। उहाँहरूले नै नारायण चोकबाट तायाः मचा नाच निकालेर बागलुङ बजार परिक्रमा गराउने परम्पराको सुरुवात गर्नुभएको थियो।

पाल्पामा परम्परागत रूपमा सञ्चालन हुँदै आएको ऐतिहासिक तायाः मचा नाच अवलोकन गरेर फर्किएपछि उहाँहरूले बागलुङमा पनि उक्त नाच सञ्चालन गर्ने परम्परा सुरु गर्नुभएको बताइन्छ।

यसरी लक्ष्मी नारायणको रथयात्रा र तायाः मचा नाच बागलुङको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung