बागलुङ । बागलुङ नगरपालिका–४ स्थित निरहेघाटमा २५ वर्षपछि परम्परागत हरिबोधनी एकादशी (ठूलो एकादशी) मेला पुनः सञ्चालनमा आएको छ ।
२०५७ सालदेखि बन्दजस्तै अवस्थामा रहेको मेला बिहीबारदेखि निर्णयघाट मानव सेवा धामको अगुवाइमा पुनः सुरु गरिएको हो ।
मंसिर ५ गतेसम्म सञ्चालन हुने मेलामा धार्मिक, सांस्कृतिक तथा खेलकुदका विविध कार्यक्रम समावेश गरिएको छ ।
मेलाको पहिलो दिन अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मेलाको उद्घाटन ज्येष्ठ नागरिक दुर्गाबहादुर आचार्यले गर्नुभएको थियो ।


एकादशीको मुख्य दिन तोरण टाँग्ने, भजनकीर्तन तथा १०८ तुलसी विवाहलगायत धार्मिक कार्यक्रम आयोजना गरिनेछ ।
त्यस्तै, धार्मिक प्रवचन, सन्ध्या आरती तथा स्थानीय लोकसंस्कृति र भजन संस्कृतिको प्रदर्शनसमेत गरिने आयोजकले जनाएको छ ।
भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख ५० हजार, द्वितीय हुनेले एक लाख, तृतीय हुनेले ५० हजार र सान्त्वना हुने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


मंसिर ५ गते प्रतियोगिताको फाइनल, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमसहित मेला समापन हुनेछ ।
धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण, नयाँ पुस्तामा मौलिक संस्कृतिको हस्तान्तरण र युवाको सहभागिता बढाउने उद्देश्यले मेला पुनः सञ्चालन गरिएको मेला मूल संयोजक एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।
विगतमा ठूलो एकादशीका अवसरमा जाग्राम बस्ने, भजनकीर्तन गर्ने र धार्मिक गतिविधि सञ्चालन गर्ने परम्परा रहे पनि द्वन्द्वकालदेखि मेला बन्द भएको थियो ।





















































































































































































































