बागलुङ । बागलुङ नगरपालिका–३ श्रीनगर टोलमा आधुनिक सेवासुविधासहित होटल आँगन सञ्चालनमा आएको छ ।
युवा उद्यमी दुर्गा कुँवरले करिब एक वर्षको तयारीपछि बिहीबारदेखि होटल सञ्चालनमा ल्याउनुभएको हो । होटलको उद्घाटन होटल व्यवसायी महासंघका अध्यक्ष शंकर भण्डारीले गर्नुभएको थियो ।

बागलुङ आउने आन्तरिक तथा बाह्य पर्यटक र विशिष्ट पाहुनालाई स्तरीय आतिथ्य प्रदान गर्ने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको सञ्चालक कुँवरले बताउनुभयो ।

होटलमा आधुनिक सुविधासहितका एकै चोटी ७० जना पाहुनालाई सेवा दिने गरी १७ वटा कोठा निर्माण गरिएको छ । सबै कोठामा एसी, इन्टरकम र २४ सै घण्टा तातोपानीको व्यवस्था गरिएको छ ।
त्यस्तै, सभा तथा सेमिनारका लागि तीनवटा बैठक तथा सभा कक्ष र ५० जना क्षमताको स्तरीय रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको छ ।

होटलमा स्थानीय परिकारलाई प्राथमिकता दिँदै पाहुनालाई स्वादिष्ट खानाका परिकार उपलब्ध गराउने लक्ष्य राखिएको सञ्चालक कुँवरले बताउनुभयो ।
होटल सञ्चालनसँगै १२ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । यस होटलले बागलुङको पर्यटन तथा आतिथ्य सेवा क्षेत्रको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।



















































































































































































































