२९ कार्तिक २०८३, आईतवार

 

एमाले बागलुङ नगर कमिटीको वडा अधिवेशन मंसिर २६ र नगर अधिवेशन पुस ४ गते हुने

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङ नगर कमिटीले आगामी वडा तथा नगर अधिवेशनको मिति तय गरेको छ ।

नगर कमिटीको पूर्ण बैठकले बागलुङ नगरपालिकाअन्तर्गतका सबै वडाको अधिवेशन मंसिर २६ गते र नगर अधिवेशन पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले वडा अधिवेशनको तयारीका लागि मंसिर ५ देखि १२ गतेसम्म तयारी बैठक गर्ने तथा नगर अधिवेशनका लागि मंसिर २६ र २७ गते तयारी बैठक गर्ने निर्णय गरेको नगर कमिटीका अध्यक्ष रामकृष्ण शर्माले जानकारी दिनुभयो ।

बैठकमा वडा कमिटीका अध्यक्ष तथा प्रतिनिधिहरूले आ–आफ्नो वडामा भइरहेका पार्टी गतिविधि र वर्तमान राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । साथै, पार्टी संगठनको अवस्था, सदस्यता नवीकरण तथा आगामी अधिवेशनलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो ।

बैठकमा नेकपा एमाले जिल्ला कमिटीका सचिव गणेश थापाले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीले पुस्तान्तरण र रूपान्तरणलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।

उहाँले वडा अधिवेशनलाई सक्रियता, एकता र उत्साहका साथ सम्पन्न गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । त्यस्तै, बैठककी प्रमुख अतिथि मनकुमारी केसीले जिल्लाका विभिन्न पालिकामा पार्टी सदस्यता नवीकरण उत्साहजनक रूपमा भइरहेको बताउनुभयो ।

उहाँले राष्ट्र, राष्ट्रियता र देश विकासका सवालमा एमालेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा पार्टीलाई थप सशक्त बनाएर प्रस्तुत हुने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा सहभागी नेता तथा कार्यकर्ताले पार्टीको संगठनात्मक सुदृढीकरण, आगामी अधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए ।

नगर कमिटीका अध्यक्ष रामकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव ध्रुव श्रेष्ठले गर्नुभएको थियो । बैठकले आगामी अधिवेशनहरूलाई व्यवस्थित, एकताबद्ध र उत्साहपूर्ण रूपमा सम्पन्न गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung