बागलुङ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा बागलुङमा कविता संग्रह विमोचन, प्रतियोगितात्मक कविता वाचनलगायत साहित्यिक कार्यक्रम सम्पन्न भएका छन्।
कार्यक्रममा युवा कवि प्रमेश कँडेलद्वारा अंग्रेजी भाषामा लिखित ‘सोलफुल साइलेन्स’ कविता संग्रह विमोचन गरिएको थियो। पुस्तकालयका पूर्वअध्यक्ष राजनकुमार श्रेष्ठले कविता संग्रहको विमोचन गर्नुभएको थियो।
सो अवसरमा श्रेष्ठले महाकवि देवकोटाले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँलाई नेपाली साहित्यले सधैँ स्मरण गरिरहनुपर्ने बताउनुभयो।
कवि कँडेल र उहाँको कविता संग्रहका बारेमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का केन्द्रीय अध्यक्ष परमेश्वर अच्युत दासले प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्याय, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा ‘अविरल’, कृतिका लेखक प्रमेश कँडेल तथा सर्जकहरू मेघनाथ पाण्डे र गणेश पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा आयोजित प्रतियोगितात्मक कविता वाचनमा गोविन्द सुवेदी प्रथम र भावना शर्मा द्वितीय हुनुभएको थियो। कवि रामचन्द्र शर्मा ‘उन्मुक्त’ र कोपिला कँडेलले अप्रतियोगी कविता वाचन गर्नुभएको थियो।
कार्यक्रममा सहभागी साहित्यकारहरूले कविता वाचनमार्फत नेपाली साहित्यका विविध पक्ष र सिर्जनात्मक अभिव्यक्ति प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रम पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजिरोशनको स्वागत मन्तव्य र पुस्तकालयका सचिव गोकुलप्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो।



















































































































































































































