बागलुङ । नेपाली कांग्रेस बागलुङको नियमित १५औँ जिल्ला अधिवेशन आगामी मङ्सिर २ गते हुने भएको छ । अधिवेशनमा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने भएको छ ।
नेपाली कांग्रेस बागलुङका जिल्ला संयोजक सागर छन्त्यालले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत अधिवेशनको मिति र तयारीबारे जानकारी दिनुभएको हो ।
कांग्रेसको १५औँ महाधिवेशनको तयारीका क्रममा उपसभापति छन्त्याललाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको थियो । नियमित अधिवेशनअन्तर्गत वडा, नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि जिल्ला अधिवेशनको तयारी अघि बढाइएको हो ।
बागलुङ बजारमा आयोजना हुने अधिवेशनले जिल्ला तहमा पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तयारी उपसमितिसमेत गठन गरिएको संयोजक छन्त्यालले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीत शेरचन, नेपाली कांग्रेसका पूर्वसभापति द्वय दीपेन्द्र थापा र मणिभद्र शर्मा कँडेललगायतको उपस्थिति रहेको थियो ।
गगन थापा १५ औँ महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी गरेको हो। मंसिर २१ देखि देउवा पक्षले महाधिवेशन गर्दै छ।



















































































































































































































