१७ कार्तिक २०८३, सोमबार

 

ढोरपाटनमा पहिलो सिकार याम सुरु, ११ विदेशी सिकारी आरक्षमा

बागलुङ।  ढोरपाटनमा पहिलो सिकार याम चलिरहेको छ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमो पहिलो याममा सिकार खेल्न केही सिकारी ढोरपाटन पुगेका छन् ।

पहिलो सिजनमा ११ नाउर र सात झारल सिकार गर्न दिइएको अनुमती अनुसार मौसम सफा भएसंगै सिकारीहरु सिकार ब्लकमा पुगेको सिकार आरक्षले जनाएको छ ।

सिकारका लागि ११ जना विदेशी सिकारीसहितको टोली सुर्तिवाङबाहेकका छवटा ब्लकमा पुगिसकेको रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो ।

ढोरपाटनमा कात्तिकमा पहिलो र चैत–वैशाखमा दोस्रो सिकार सिजन सञ्चालन हुन्छ । सिकारका लागि छुट्याइएका नाउर र झारलमध्ये पोथी तथा निश्चित उमेर नपुगेका जनावरको सिकार गर्न पाइँदैन ।

पाको उमेरका भाले जनावरलाई मात्रै सिकार अनुमति दिइने भएकाले उत्पादनमा खासै असर नपर्ने सुवेदीको भनाइ छ ।

ढोरपाटन सिकार आरक्षमा सुर्तिवाङ, फागुने, बार्से, घुस्तुङ, दोगाडि, सुनदह र सेङ गरी सातवटा सिकार ब्लक छन् । तीमध्ये बागलुङ र रुकुममा तीन–तीन तथा म्याग्दीमा एउटा ब्लक पर्दछ ।

नेपालको एकमात्र सिकार आरक्ष भएकाले यहाँ नाउर र झारलको नियन्त्रित सिकार गर्न विदेशी सिकारी आउने गर्छन् ।

अमेरिका, युरोप र अस्ट्रेलियालगायतका देशबाट आउने सिकारीले करिब दुई साता आरक्षका विभिन्न ब्लकमा बिताउने गरेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बोलपत्रमार्फत सिकारको अनुमति दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung