१३ कार्तिक २०८३, बिहीबार

 

कामना सेवा विकास बैंकद्वारा हुने कामना सेवा फुटसल कप ‘सिजन ६’को तयारी पूरा

बागलुङ । कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको कामना सेवा फुटसल कप सिजन ६ को टाई–सिट ड्र, जर्सी अनावरण, ट्रफी अनावरण तथा ब्रान्ड एन्थम सार्वजनिक गरेको छ।

कार्यक्रममा सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फा रेफ्री तथा बैंकका कर्मचारीको उपस्थिति थियो।

कार्यक्रमको स्वागत मनतव्य राख्दै बैंकका प्रमुख सञ्चालन अधिकृत रघुनाथ त्रिपाठीले कामना सेवा फुटसल कप बैंकका लागि प्रतियोगिता मात्र नभई खेलकुदमार्फत समाज र युवासँग जोडिने माध्यम भएको बताए।

उनले खेलकुदले स्वस्थ जीवनशैली, अनुशासन र टिमवर्कको सन्देश दिने भएकाले बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उल्लेख गरे।

कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत त्रिपाठीले फुटसल कपको ब्रान्ड एन्थम सार्वजनिक गरेका थिए।

साथै, उनले सहभागी टोलीका टिम म्यानेजरहरूलाई जर्सी हस्तान्तरण पनि गरे। सोही अवसरमा प्रतियोगिताको टाइ–सिट ड्र सार्वजनिक गरिएको थियो।

कार्यक्रममा गत सिजन (सिजन ५)का पुरुषतर्फका उपाधि धारक सिद्धार्थ बैंक र महिलातर्फका उपाधि धारक लुम्बिनी विकास बैंकका प्रतिनिधिहरूले आफ्ना मन्तव्य राखे।

बैंकको आयोजना गरेको यस प्रकारको खेलले बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच भाइचारा विकास हुने भएकोमा कामना सेवा विकास बैंकलाई धन्यवाद दिए।

यस वर्षको प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० टोलीले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिता कार्तिक १४ र १५ गते धन्वन्तरी फुटसल कोर्टमा सञ्चालन हुनेछ।

कामना सेवा विकास बैंकले खेलकुद प्रवद्र्धन, युवा प्रतिभालाई मञ्च प्रदान तथा महिला सहभागिता प्रोत्साहनको उद्देश्यले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung