१३ कार्तिक २०८३, बिहीबार

 

मेटलाइफ नेपालद्वारा सरल र सहज अनलाइन दाबी ट्र्याकिङ सेवा सुरु

बागलुङ। ग्राहकको विश्वास अझ सुदृढ बनाउने उद्देश्यसहित मेटलाइफ नेपालले नयाँ ग्राहक दाबी प्रक्रिया ट्र्याकिङ प्रणाली सुरु गरेको छ।

यस सेवामार्फत ग्राहकले फोन नगरी वा शाखामा उपस्थित नभई आफ्नो दाबीसँग सम्बन्धित अद्यावधिक जानकारी सहज र सुरक्षित रूपमा प्राप्त गर्न सक्नेछन्।

नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार सुरु गरिएको यस सेवाले दाबी प्रक्रियामा ग्राहकको पहुँच र पारदर्शिता अभिवृद्धि गर्ने कम्पनीले जनाएको छ।

नयाँ प्रणालीमार्फत ग्राहकले जुनसुकै समय र स्थानबाट अनलाइनमै आफ्नो दाबीको अवस्था ट्र्याक गर्न सक्नेछन्।

ग्राहकले मेटलाइफ नेपालको वेबसाइटमार्फत आफ्नो दाबी प्रक्रियाको प्रगति, हालको समीक्षा चरण तथा पूरा गर्न बाँकी आवश्यक विवरण वा कागजातबारे जानकारी लिन सक्नेछन्।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले बीमाको मुख्य उद्देश्य आवश्यक परेको समयमा ग्राहकलाई गरिएको प्रतिबद्धता पूरा गर्नु रहेको बताए। उनका अनुसार दाबी भुक्तानी उक्त प्रतिबद्धताको महत्त्वपूर्ण पक्ष हो।

“ग्राहकले दाबी दर्ता गरेपछि देखिने अनिश्चितता कम गर्दै अझ बढी पारदर्शितामार्फत उनीहरूको विश्वास बढाउन मद्दत मिल्छ,” उनले भने।

कम्पनीका अनुसार यो सेवा ग्राहकलाई प्राथमिकता दिने दृष्टिकोण तथा बीमालाई अझ सरल, पारदर्शी र सहज बनाउने उद्देश्यले डिजिटल सेवाको प्रयोगमार्फत निरन्तर सुधार गर्ने प्रतिबद्धताको हिस्सा हो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung